TodayPati

सिरहा अस्पतालमा फिस्टुलाको अपरेसन गर्दा करेन्ट लागेर घुँडामा घाउ

टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।

प्रादेशिक अस्पताल सिरहामा पुनः उपचारमा चरम लापरबाही भएको घटना सार्वजनिक भएको छ । सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हाका २४ वर्षीय रामबाबु महतोको उपचारमा लापरबाही भएको हो । चैत ७ गते मलद्वारको फिस्टुलाको अपरेसन गराउँदा अपरेसन कक्षमै उनलाई चार ठाउँमा करेन्ट लागेको थियो । देब्रे घुँडामा करेन्ट लागेर बल्झेको गहिरो घाउले राबमबाबु ४ महिनादेखि थलिएका छन् । उनलाई हिडडुल उठबस गर्न गाह्रो भएको छ ।


‘मत बेहोस् थिएँ । अपरेसन थिएटरबाट बाहिर निस्केपछि आमा हेरेर हैरान हुनुभयो । होसमा आएपछि मेरो घुँडामा जलेको थाहा पाएँ’ रामबाबुले भने ‘ त्यो घाउ अहिलेसम्म निको भएको छैन । त्यसैबेलादेखि म राम्ररी उठबस गर्न सक्दिन ।’
अपरेसन प्रादेशिक अस्पताल सिरहाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सर्जन डा. नागेन्द्र यादवले गरेका थिए । शल्यक्रिया आफूले गरेपनि लापरबाही नभएर शल्यक्रियामा प्रयोग हुने इलेक्ट्रीक कट्री मेसिनको कारण रामबाबुको छाला जलेको उनको तर्क छ ।

Sponsored

‘अप्रेसनको क्रममा इलेक्ट्रीक कट्री प्लेट राख्नु पर्छ । अप्रेसन हुने ठाउँमा करेन्ट आउने त्यो कट्री मेसिनले काट्नु पर्छ । त्यसमै हाइ भोल्टेज प्रवाह भएर छालामा जलन भयो’ डा. यादवले भने ।

रामबाबुका अनुसार छाला जलेर घाउ लागेको विषयमा त्यस बेला गुनासो गर्दा मेसु डा. यादवले औषधि उपचारको सम्पूर्ण खर्च बेर्होर्ने आश्वासन दिएको दिएका थिए । घाउको कारण रामबाबु अस्पतालमै लामोसमय भर्ना हुनुपर्ने भयो । २८ चैतमा मेसु डा. नागेन्द्र यादवको राजविराज स्थित गणेजन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भयो । उनी गए ।

रामबाबु डेढ महिनासम्म अस्पताल भर्ना भए । घाउँ निको हुनुको साटो झनै बल्झिदै जाँदा सिरहा अस्पतालले १८ वैशाखमा उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदियो । अन्य तीन ठाउँमा डढेको निको भयो । तर देब्रे घुँडको घाउ अहिलेसम्म निको भएको छैन । उपचारमा हालसम्म २ लाख ७० हजार भन्दा बढी खर्च भइसकेको रामबाबु बताउँछन् । घाउ कहिलेसम्म निको हुने भन्ने ठेगान छैन । स्थानीय एक पेट्रोल पम्पमा काम गरेर जिवीकोपार्जन गर्ने रामबाबु उल्टै उपचारको क्रममा ऋणको भारी बोक्न बाध्य छन् ।

Sponsored

घाउको लागि औषघि उपचार बेहोर्ने प्रतिबद्धा गरेका डा. यादवलाई भन्दा आफूले त्यसको जिम्मा नलिको भन्दै पन्छिने गरेको रामबाबुको गुनासो छ । रामबाबुले डा. यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा १४ जेठमा उजुरी दिएका छन् । प्रहरीले छलफलमा बोलाउँदा आएका डा.यादवले आफू एक पैसा पनि नतिर्ने, जे गर्नु छ गर, जहाँ जानु छ जा भन्दै हिडेको रामबाबुले दुखेसो पोखे ।
‘प्रहरीकै अगाडीमा उहाँले म एक पैसा तिर्दिनँ । जे गर्नु छ गर । मुद्दा गर्नु छ गर, म मुद्दै लड्छु भन्दै धम्क्याएर जानुभयो’ पीडित रामबाबुले भने ।

यता डा. यादव आफूले सिरहा प्रादेशिक अस्पतालमै उपचार गराउन भनेको र त्यहाँ सबै निःशुल्क हुने आश्वासन दिएको बताए । तर आफू सरुवा भएर गएपछि रामबाबु अन्यत्र गएर उपचार गराएको र अब उपचार खर्च मगिरहेको उनको भनाइ छ । ‘राबाबुलाई जलेको केहीदिनसम्म म आफै उपचार गरे । म सरुवा भएर गएपछि बाहिर उपचार गराउन जानु भयो । अहिले पैसा माग्दै हुनुहुन्छ । म कहाँबाट दिने ?’ डा. यादव भन्छन् ‘म प्राइभेट अस्पतालमा अप्रेसन गरेको होइन नि ! अब उपकरणमा हाइभोल्टेजको कारण अन्य ठाउँमा जलन भयो । त्यसको भागिदार संस्था हुन्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *