TodayPati

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा पूजा गरिँदै

टुडेपाटी-
जनकपुरधाम, असोज १९ गते ।

आज बडादशैं तथा नवरात्रको तेस्रो दिन, देशभरका दसैं घर र पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना भइरहेको छ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार चन्द्रघण्टा देवीको नाम उनको हातमा रहेको चन्द्रमाको आकारको घण्टाको आधारमा राखिएको हो। देवीको पूजा गर्नुले भक्तजनलाई शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाका अनुसार देवीको आराधनाले दानवीय शक्ति नाश गर्न सकिन्छ।

Sponsored

मार्कण्डेय पुराणमा चन्द्रमा जसको घण्टामा छ, त्यस देवीलाई चन्द्रघण्टा भनी वर्णन गरिएको छ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ, र उनी अत्याचारी दानवहरूको नाश गर्ने देवीका रूपमा परिचित छिन्। देवीको पूजा गर्दा मणिपुर चक्रलाई ध्यान गरिन्छ, जसबाट भक्तजनलाई अद्वितीय शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार चन्द्रघण्टा देवीको कृपा पाउँदा पापहरूको नाश हुन्छ। देवीको स्वरुप शान्त र करुणामयी छ, जसका कारण गीत–संगीत क्षेत्रमा लागेकाहरू विशेषतः उनीप्रति श्रद्धा व्यक्त गर्दछन्। चन्द्रघण्टा देवीको आराधना गर्दा ललाटमा चमक प्राप्त हुने विश्वास गरिएको छ।

यसअघि बिहीबार नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको पूजा गरिएको थियो, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा सम्पन्न भएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको छ।

Sponsored

नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवतजस्ता धार्मिक पाठहरू गरिन्छ। धार्मिक मान्यताअनुसार नवरात्रको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवमीसम्म दुर्गा देवीको विशेष पूजा हुन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म दसैं पर्व मनाइन्छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *