बटेश्वर गाउँपालिकाले यसरी धपाउँदै छ बाँदर !
टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।
बाँदर धपाउन पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले रुख काट्ने उर्दी जारी गरेको सूचना यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । ‘मेरो रुख म काट्छु’ अभियान भन्दै जारी गरेको सूचनाको चौतर्फी आलोचना भइरहेको छ ।
यसै बेला धनुषाको बटेश्वर गाउँपलिकाका वडा नं. १ चित्रपुरमा पनि बाँदर नियन्त्रण अभियान जारी छ । तर, पोखराकै वडाध्यक्षले भने जस्तो रुख काटेर होइन । भारतबाट अनुभवी मान्छे बोलाएर बाँदर धपाउने कार्य भइरहेको छ । धारतको मथुराबाट तीनजना अनुभवी मान्छे बोलाएर करिब एक महिनामा पाँचसय बाँदर धपाइएको वडाध्यक्ष अशोक कुमार महतोले बताए ।
तीनैजनाले बाँदरलाई पिजरामा समातेर गाडीमा राखेर रातिको समयमा टाढा चुरे जंगल लगेर छाडिने गरिएको छ । बाँदर समात्न पहिला केरा, मुमफली, चना लगायतको खानेकुरा दिएर लोभ्याइन्छ । बाँदर लोभिएपछि पिंजराहरु राखेर त्यसमा फलफुल दिन्छन् । भित्र पसेपछि बाँदरलाई बन्द गरिन्छ । त्यसपछि गाडीमा राखेर उनीहरुलाई जंगलको सुरक्षित स्थानमा छोडिने गरिएको बाँदर समात्ने मथुराका भुला कुसेरीले बताए ।
‘पहिले फुलफुल खानेकुरा दिएर लोभ्याउँछौं । अनि पिंजरा थपेर समात्छौं । यसरी समात्दा र गाडीमा राखेर सुरक्षित जंगलमा छाड्दा उनीहरुलाई कुनै प्रकारको क्षति हुँदैन’ उनले भने ।
बारीझारी तथा घना रुखबिरुवाको कारण चित्रपुर गाउँमा केहीवर्षयता बाँदर पसेर आतंक मच्चाएका छन् । खेतवारीमा तरकारी, फलफुल जस्ता बालीनालीमा क्षति गर्नुको साथै घरमा पसेर समेत अन्नपात खाना खाइदिने गरेका छन् । बाँदरको यो आतंकबाट पीडित स्थानीय नियन्त्रणको लागि पालिकालाई दबाब दिँदै आएको थियो । त्यसपछि वडा कार्यालयले भारतको मथुरबाट अनुभवी मान्छे बोलाएर बाँदर धपाइरहेका छन् । अब करिब एक दर्जनको संख्यामा मात्र बाँदर रहेको वडाध्यक्ष महतो बताउँछन् ।
गाउँपालिकाको पाँच लाख बजेटबाट बाँदर धपाउने काम भएको र यस भेगका किसानको लागि ठूलो राहत महसुस गरेको वडाध्यक्ष महतोले बताए ।
Sponsored
मंगलबार राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयकी प्रमुख मञ्जु खतिवडासहितको मनाव अधिकार तथा खाद्य अधिकारकर्मीको टोलि चित्रपुर पुगेर जंगली जनावरको आतंक बारे बुझेका थिए ।
स्थानीयहरुले बाँदर आतंकबाट राहत महसुस गरेको बताएका थिए । यधपी निलगाइको आतंक भने काययमै रहेकाले बालिनालीमा क्षति पुर्याउने गरेको गुनासो गर्दै बाँदर जस्तै निलगा धपाउन नसकिने भएकाले सरकारले नियन्त्रण गर्न वा मार्न पाउनुपर्ने स्थानीयको माग थियो ।