TodayPati

विद्युतीय धरापमा परेर मृत्यु हुँदा गुलसनाको शव बोरामा राखेर गाडेको खुलासा, एक जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।

सिरहाको गोलबजार नगरपालिका–९ गोबिनपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरा भित्र गाडिएको अवस्थामा फेला परेको घटनाको रहस्य खुलेको छ ।

सिरहाको घुर्मी खोला किनारमा चैत १२ गते बोरा भित्र शव भेटिएको थियो । शव फागुन २९ गतेदेखि हराइरहेकी बालिका गुलसना खातुनको भएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ ।

प्रहरी अनुसन्धान अनुसार, गुलसना घाँस काट्न जाँदा स्थानीय वीरबहादुर सार्कीको मकै खेतमा जनावर तर्साउन थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको हो ।

सार्कीले बालिकाको मृत्यु ढाकछोप गर्न शव बोरा भित्र राखेर खाल्डोमा गाडिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), मधेश प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले दुई सातासम्म अनुसन्धान गरी मृत्युको कारण सार्वजनिक गरेको हो ।

प्रहरीले वीरबहादुर सार्कीलाई शनिबार पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, सार्कीसँग ज्यानसम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *