TodayPati

जलाद खोलामा मुख्यमन्त्री सिंहको अनुगमन, सात टिपर र दुई जेसिबी नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, चैत २२ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार दिउँसो धनुषाको मिथिला नगरपालिका–४ मा पर्ने जलाद खोलाको स्थलगत अनुगमन गरेका छन् ।

निरीक्षणका क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भइरहेको सात वटा टिपर र दुई वटा जेसिबी मेसिन नियन्त्रणमा लिइएको छ । ती सवारी साधनहरू इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाइएको छ ।

मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ कुनै पनि किसिमको उत्खनन गर्नुअघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य हुन्छ । उक्त प्रतिवेदनलाई प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।

‘मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्रै सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयले सहमति दिने र त्यसपछि स्थानीय तहले ठेक्का प्रक्रियालाई अघि बढाउन पाउँछ,’मुख्यमन्त्री सिंहले भने । तर, मिथिला नगरपालिकाले वातावरणीय परीक्षण प्रतिवेदन आफैं स्वीकृत गरेको देखिएको छ, जुन स्पष्टतः वैधानिक प्रक्रिया विपरीत छ।

खोलामा अनुमति बिना ठेक्का दिएर उत्खनन अगाडि बढाइएको पाइएको भन्दै मुख्यमन्त्री सिंहले सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुन निर्देशन दिए ।

अवैध उत्खननका विरुद्ध कडा कारबाही हुने चेतावनी दिँदै उनले भने , ‘सरकार वातावरणीय संरक्षण र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा प्रतिबद्ध छ। कानुन विपरीत गतिविधि गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *