TodayPati

महोत्तरीमा मोटरसाइकल चेकजाँचमा कडाई, अभरलोड टिपरलाई हुँदैन कारबाही

टुडेपाटी-
ज्नकपुरधाम, चैत २५ गते ।

शनिबार बिहान ९ बजे महोत्तरीको लोहारपट्टी प्रहरीचोक अगाडि ट्राफिक चेकजाँच हुँदैथियो । चौकी अगाडी पुलमा दुईजना ट्राफिक प्रहरीको चेकजाँचको निसानमा मोटरसाईकलहरु परेको थियो ।
ना ३२ प ४७४६ नम्बरको मोटरसाईकलसँग बिलबुक र लाइसेन्स दुबै थियो । तर मोटरसाईकल बिलबुकको पाँच वर्षको नविकरण फेल भन्दै जरिवाना तिर्न वा मोटरसाईक थन्काउन चालकसँग ट्राफिक प्रहरी जवान रामविलास यादव जोडबल गर्दै थिए ।

नविकरण फेल आफ्नो व्यक्तिगत समस्या भन्दै रोक्न र फाइन काट्न नहुने अडानमा थिए मोटरसाईकल चालक रामनरेश सिंह । चेकजाँच भइरहेको अगाडि र पछाडि सडकमा अभरलोड टिपरबाट खसेको गिट्टीले ट्राफिक प्रहरीलाई गिज्याइरहेको थियो । त्यहाँ मात्र होइन लोहारपटी बजारदेखि कुर्था बजारसम्मको सडकमा दर्जन भन्दा बढी स्थानमा गिट्टी यत्रतत्र खसेको थियो ।

यसले सडक भएर आवतजावत गर्ने सर्वसाधारणलाई किठनाइ भइरहेको थियो । तर अभरलोड टिपर कस्न ट्राफिक प्रहरी गम्भीर नदेखिएको स्थानीयको गुनासो छ ।

‘टिपरबालासँग ट्राफिक प्रहरीको सेटिंग हुन्छ । त्यस कारण टिपरबालालाई कानुन लाग्दैन । मोटरसाइकलबालालाई मात्र चेकजाँच गर्छ, फाइन काट्छ’ नाम खोलाउन नचाहेका एक मोटरसाइकल चालकले गुनासो गरे ‘तर सडकमा खसेको यो गिट्टीले हामी मोटरसाइकल चालक यात्रुलाई झन् जोखिम छ । चिप्लिएर दुर्घटना हुन सक्छ, अथवा टायरमा लागेर उछिट्टिएर अन्य त्रुलाई लाग्न सक्छ । यसवारे ट्राफिक प्रहरी पेवरवाह छन्’

मोटरसाइकल चेकजाँचमा लागेका ट्राफिक प्रहरी जवान रामविलास यादवलाई यस विषयमा जिज्ञासा राख्दा उनले समान्य लिए । ‘टिपरलाई पनि हामीले चेकजाँच गरेकै हो नि’ उनले जवाफ दिए ।
टिपरलाई चेकजाँच गर्नु भएको छ भने तपाईले चेकजाँच गरिरहेको अगाडि पछाडि र सडकमा दर्जनौ ठाउँमा कसरी गिट्टी झरेर छरियो ? यसले यात्रुलाई जोखिम हुन्न भन्ने जिज्ञासाको जवाफ नदिँदै उनी फेरि मोटरसाइकल चालकलाई जरिवाना तिराउन वा मोटरसाईकल थन्काउन जोडबलमा लागे ।

मोटरसाइकल चेकजाँचमा कडाई र टिपरजस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले खासै वास्ता गरेको देखिँदैन । सहरी तथा ग्रामिण भेगमा पनि अभरलोड तथा नछोपेर टिपर र ट्याक्टरमा गिट्टी बालुवा ढुवानी गर्ने गरेको देखिन्छ । यसले सडकमा छरिने गिट्टी बालुवाले जोखिम पढाइरहेको छ । तर यता तर्फ प्रहरी गम्भीर देखिँदैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *