TodayPati

जनकपुरका घुम्नैपर्ने १४ तीर्थस्थल !

रोहित सिंह-
जनकपुरधाम, माघ २४ गते ।

प्रदेश २ को स्थायी राजधानीको प्रक्रियामा रहेको जनकपुर प्राचीन तथा धार्मिक सहर हो। त्रेता युगमा सीताको जन्म यहीँ भएको मान्यता छ।
प्राचीन कालमा मिथिला, विदेह र तिरहुत भनिने जनकपुर जनक वंश राजाहरुको राजधानी पनि हो। रमायण, वेद, पुराणलगायतका उपनिषद्मा मिथिला सभ्यताबारे व्याख्या गरिएको छ।

यिनै धार्मिक महत्व, मिथिला संस्कार र सभ्यताले जनकपुर पर्यटकीय दृष्टिकोणलेसमेत महत्वपूर्ण सहर हो। राम, सीता र जनकसँग साइनो जोडिएका यी धार्मिक तथा ऐतिहासिक स्थल पर्यटकको रोजाइमा पर्छन्।
रामायणकालीन इतिहास बोकेका धार्मिकस्थल प्रचारप्रसार तथा संरक्षणको पर्खाइमा छन्।

Sponsored

जानकी मन्दिर
विश्वप्रसिद्ध जानकी मन्दिर नौलखा मन्दिरको नामलेसमेत प्रख्यात छ।विश्वभरका हिन्दुको आस्थाको केन्द्र रहेको यहाँ त्रेता युगमा भगवान राम र सीताको विवाह भएको मानिन्छ।

जनकपुरधामको मध्य भागमा मुगल शैलीमा निर्मित जानकी मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमुना मानिन्छ। भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले सन १९११ मा ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ। मन्दिरको वार्षिक क्यालेन्डरअनुसार यहाँ जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण संस्कार मिथिला विधिअनुरूप हुने गरेको छ।

रामको जन्म दिनको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन–भदौमा झुला र फागुनमा परिक्रमा मनाइन्छ । विवाह महोत्सवमा मात्र वर्षेनि करिब १० लाख दर्शनार्थी आउने गरेका छन्।

Sponsored

मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजुर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार भएको जानकी मन्दिरलाई सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रयास गरिरहेको बताउँदै आएको छ। मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ।
दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन। गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ। त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको झझल्को दिलाउँछ।

राम मन्दिर
राम र सीतासँगै जोडिएका महत्वपुर्ण मन्दिर हो यो। करिब १५ सय वर्षअघि प्यागोडा शैलीमा निर्माण गरिएको थियो। रणबहादुर शाहका सेनापति अमरसिंह थापाले १८३९ सालमा यो मन्दिरको निर्माण गर्न लगाएका थिए। पछि चन्द्रशमशेर प्रधानमन्त्री भएको समयमा १९८४ सालमा पित्तलको छानोमा सुनको पानी चढाउन लगाएर मन्दिरलाईअझै आकर्षक बनाउन लगाएका थिए।
मन्दिरको लम्बाई २५ फिट रहेको छ भने २३ फिट चौडाइ छ। झिंगटीको छानो हाली काठबाट यस मन्दिरको निर्माण गरिएको छ। मन्दिर परिसर भित्र १८ वटा शिवलिंग रहेका छन्। यी शिवलिंगलाई नवग्रहादी पनि भन्ने गरिन्छ। हुन त यसलाई धर्म रक्षाका लागि प्राण दिएको संन्यासीहरुको समाधीस्थल रहेकोसमेत भन्ने गरिन्छ।


मन्दिरभित्र भगवानका केही पाषाण मूर्तिहरु र संगमर्मरका मूर्तिहरुसमेत राखिएको छ। त्यहाँ रहेका मूर्तिहरुमध्ये यशोधाले भगवान कृष्णलाई दूध खुवाइरहेको कालो ढुंगाको मूर्तिलाई पालकालीन मूर्ति मानिन्छ । यी मूर्तिहरु पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छन्।

जनक मन्दिर
मिथिलाका तत्कालीन राजा जनकको नामले प्राचीन नमूनाको मन्दिर हो। धनुष सागरको उत्तर पश्चिम डिलमा अवस्थित यो मन्दिरकै कारण यो ठाउँलाई जनक चोकको नामले चिनिन्छ।

मन्दिरमा प्रमुख रुपले राजा जनक, सुनयना, सीतालगायत अन्य देवी देवताको पूजा आराधना गर्ने गरिन्छ। राजर्षि जनकको मन्दिरको स्थापना मणिक सेनको समयमा भएको मानिन्छ।

मन्दिरको गर्भ गृहमा रहेका मूर्तिहरु क्रमशः शतानन्द (कालो ढुंगा), राजर्षि (ढुंगा), सुनयना (संगमर्मर), गोपाल (ढुंगा) राखिएका छन्। मन्दिरमा रहेको राजर्षि शिरध्वज जनकको मूर्ति शिर तथा हाथ खुट्टा नभएको खण्डित मूर्ति रहेको छ।
भगवान राम जनकले दिएको दाइजोबाट सन्तुष्ट नभएपछि आप्mनो शिर नै काटेर दिएको किम्बदन्तीसंग समेत यस मूर्तिलाई जोड्ने गरिन्छ।

राजदेवी मन्दिर
मिथिलाका राजा जनकका कुलदेवीको रुपमा राजदेवीलाई लिइने गरिन्छ। राम मन्दिरसँगै उत्तरतर्फ राजदेवी मन्दिर रहेको छ।
मन्दिरको गर्भगृहमा माटोको ढिस्कोलाई कुलदेवीको रुपमा प्राचीन कालदेखि नै जनकको कुल देवताको रुपमा पूजा गरिँदै आएकोछ। राजदेवी माताको प्रतीकका रुपमा रहेको माटोको ढिस्कोलाई अहिले पित्तलको पाताले ढाकिएको छ।


मन्दिर परिसरमा महावीर युवा कमिटीले टायल्स ओछ्याएर त्यसको आकर्षण अझै बढाएको छ। विजया दशमकी अवसरमा दुलही झैँ सजाएर ९ दिनसम्म यो मन्दिरमा भव्यपूजा गरिन्छ।
पूजामा लाखौँ दर्शनार्थीको घुँइचो लाग्ने गर्छ।

रामजानकी विवाह मण्डप
जानकी मंदिरको उत्तर तथा अरगज्जासरको दक्षिण .तर्फ रहेको रामजानकी विवाह मण्डपमै राम सीताको विवाह सम्पन्न भएको मानिन्छ। आकर्षक देखिने यो मण्डप पर्यटकलाई आकर्षित गर्नसकिने ढंगबाट बनाइएको छ।
मण्डपको गर्भगृहको चारैतिर पारदर्शी सीसा लगाइएकाले गर्भगृह वरिपरि रहेका सम्पूर्ण देवताको दर्शन बाहिरबाट गर्न सकिन्छ । सीतारामका भव्य मूर्तिहरु गर्भगृहको मध्य भाग वेदीको पश्चिममा पूर्व मुख पारेर राखिएका छन् ।


गर्भ मण्डपभित्र कलात्मक अठार ओटा संगमरमरका स्तम्भ छन् । यी स्तम्भमा विभिन्न देवीदेवताका चार–चार ओटा दरले संगमरमरका मूर्ति जोडिएका छन् ।

मणि मण्डप
त्रेता युगमा मणि मण्डप राजा जनकको दरबार रहेको मानिन्छ । यसले जनकपुरधामको पौराणिकतालाई दर्शाउँछ । पुरातात्विक दृष्टिले अति नै प्राचीन रहेको यो मण्डपले मिथिला सभ्यताको प्राचीनतालाई समेत दर्शाउँछ।


एकजना भक्तको भाकल पूरा भएपछि त्यहाँ रहेको मन्दिरको निर्माण गरिएको बताइन्छ। राजा जनकको दरबार १५ कोषमा फैलिएको थियो मिथिला महात्मयमा उल्लेख रहेको छ । महात्मका अनुसार दरबारमा ५२ गल्ली रहेका थिए।

लक्ष्मण मन्दिर
जनकपुरधामका पुराना मन्दिरमध्ये लक्ष्मण मन्दिर पनि एउटा हो। यो मन्दिर जानकी मन्दिरअगाडिको प्राङगणको उत्तर पूर्वमा पर्छ।

यस मन्दिरमा मुख्य रुपमा भगवान सीताराम, लक्ष्मण र लवकुशका धातुका मुर्ति राखी पुजाआजा गरिन्छ।मन्दिरका महन्थ वेदान्ती श्री राटहल दासका अनुसार भागवतका अनुसार त्रेतामा मिथिलाका राजा बाहुल्याश्व जनक थिए।
मिथिलामा भीषण अनिकाल परेको थियो। जनता आकुलव्याकुल र दुःखी थिए।

जनतामा सन्तानवृद्धिको क्रम रोकिएको थियो। देशको यस्तो स्थिति देखेर राजा, ऋषिमुनिहरु पनि दुःखी थिए।
राजा बाहुल्याश्व यस संकटकालीन स्थितिबाट छुटकारा पाउन चिन्तित थिए।यस अवस्थाबाट मुक्ति पाउन तत्कालीन ऋषिमुनिले हिमालयमा गई १२ वर्ष तपस्या गर्न भने।

ऋषिमुनिको आदेश पाएपछि हिमालयमा गई तपस्या गर्न थाले १२ वर्ष तपस्या गरेपछि उनलाई लक्ष्मणको मुर्ति प्राप्त भयो र आकाशवाणी भयो। तिमी यो मूर्ति लिएर जानु र पूजा गर्नु तिम्रो देशमा अनिकाल हट्नेछ, जनता सबै खुसी रहने छन्।

राजाले लक्ष्मणको मूर्ति लिएर आफ्नो देशमा आए र, पुजाआजा सुरु गरे। यसपछि देशमा अनिकाल हट्यो जनतामा सन्तान वृद्धिको क्रम सुरु भयो। राजा प्रजा सबै आनन्दले जीवन बिताउने भएपछि कालखण्डपछि राष्ट्रमा अनेक उकाली ओराली आएको कारण लक्ष्मणजीको मूर्ति माटोमा पुरिन गयो र, लुप्त भयो।
त्यसै किंवदन्तीअनुरुप लक्ष्मणको मूर्ति राखेर मन्दिर निर्माण गरिएको छ।

धनुषाधाम
जनकपुरधामबाट १५ किलोमिटर दूरीमा रहेको धनुषाधाममा रहेको धनुष मन्दिर पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यही मन्दिरका कारण यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको मान्यता छ।
त्रेतायुगको इतिहास बोकेको धनुष मन्दिर दर्शनका लागि नेपाल भारतका विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गर्छन्। त्रेतायुगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको धनुष तोडेका थिए।

भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको मान्यता छ। त्यसमध्ये एक टुक्रा आकाशमा, एक टुक्रा पातलमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मीकि रामायणमा उल्लेख छ। पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल हो धनुषाधाम।

सुरुमा खुला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थलले एक दशकअघि मात्रै मन्दिरको स्वरूप प्राप्त गरेको मन्दिरका महन्थ भरत दासको भनाइ छ। धनुष झरेको स्थलमा कालो सिमेन्टझै ढुंगा झरेको देखिन्छ।

धनुषको टुक्रा दिनानुदिन बढ्दै गएको छ। सुरुमा सानै आकार रहेको उक्त टुक्रा अहिले करिब सय मिटरसम्म फैलिसकेको छ।
टुक्रा किन फैलिरहेको छ भन्ने अहिले पनि रहस्यमय छ। कालो ढुंगाजस्तै देखिने त्यो टुक्रा के हो भन्ने पुष्टि अहिलेसम्म वैज्ञानिकले गर्न सकेका छैनन्।

त्यो टुक्रा न ढुंगा, न काठ वा न कुनै धातु नै रहेको अनुसन्धानबाट खुलेको थियो।
यस क्षेत्रमा क्षेत्रमा धनुषाधाम वन, धनुषाधाम वन भित्रै रहेको वाण गंगा नदि जस्ता पर्यटकीय स्थलहरु समेत रहेका छन् ।

दूधमती नदी
धनुषा र महोत्तरी जिल्ला भएर बग्ने दूधमती नदीको प्राचिन तथा धार्मिक नदी हो। यो नदीले त्रेतायुगकालीन इतिहास बोकेको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका उदगम स्थल रहेको यो नदीको उत्पति त्रेतायुगमै भएको मान्यता छ।माता सीतालाई दूध खुवाउने कोही नभएपछि पृथ्वी माताले नै कामधेनुलाई दूध खुवाउन आग्रह गरेपछि स्वयं कामधेनु माता उनलाई दूध खुवाउन धरतीमा अवतरित भएकी थिइन्।

माता कामधेनुले आफ्नो स्तनबाट दूधको धारा बहाएपछि यो नदी बनेको मानिन्छ। त्यसैले यस नदीको नाम दूधमती रहन गएको हो।
दूधमती नदीको पानी पनि केही वर्ष अघिसम्म दूधजस्तै स्वच्छ र सफा बग्ने गथ्र्यो। तर, नदीमै फोहोर पानी र नाला मिसिएपछि यो नदी संरक्षणको पर्खाइमा छ।

गंगा सागर
गंगा सागरको त्रेतायुग कालीन इतिहास छ। रामजानकीको विवाहका बेला जानकीकै आग्रहमा भगवान रामले आफ्नो वाणले गंगालाई जनकपुरमा आमन्त्रित गरेको मान्यता छ।
इतिहासकारका अनुसार त्रेता युगमा मिथिलाका नरेश निमिको श्रापबाट पूरै शरीर गलिसकेको थियो। त्यसपछि उनको शरीरलाई मन्थन गरी मिथि नामक बालकको जन्म भएको थियो।
रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ। अहिले जनकपुरधाम आउने पर्यटकका लागि जानकी मन्दिर, राम मन्दिर दर्शन पछि गंगा आरती आकर्षक केन्द्रका रुपमा चिनिएको छ।

This image has an empty alt attribute; its file name is ganga-sagr.jpg


संगीतमय गंगा आरती हेर्न प्रत्येक साँझ जनकपुरधामको ऐतिहासिक गंगासागरमा श्रद्धालुको भीड लाग्ने गर्छ। त्यहाँ प्रत्येक साँझ ७ बजेदेखि ८ बजेसम्म गंगा आरती हुने गर्छ। गत ५ पाँच वर्षदेखि गंगा आरती हुँदै आएको छ।

महाराज सर
जानकी मन्दिरभन्दा पश्चिम र रंगभूमि मैदानभन्दा दक्षिणमा अवस्थित यो पोखरी स्नान गर्नाले पापबाट मुक्ति मिल्ने जनविश्वास छ। यो पोखरीको नाउँ भगवान रामका पीता राजा दशरथको नाउँबाट महाराज सर राखिएको छ।
पिता यमदग्निको आज्ञाबाट परशुरामले आफ्नै माताको हत्या गरेका थिए। पापबाट मुक्ति पाउनका लागि यसै पोखरीमा स्नान गरेको मान्यता रहेको छ।
यो पोरखीको पश्चिमपट्टिको डिलमा राजा दशरथको ऐतिहासिक मन्दिर समेत छ ।गंगा दशहराका दिन महाराज सरमा स्नान गर्ने परम्परा रहेको छ।

सीता कुण्ड
जनक राजमार्गदेखि पश्चिमतर्फ सीता कुण्ड अवस्थ्ति छ। बिहार कुण्डभन्दा दक्षिण पश्चिम र ज्ञानकुण्डभन्दा पूर्व दक्षिणमा रहेको यो कुण्डको दक्षिणतर्फ ११ फिटभन्दा अग्लो माटोको ढिस्कोमा मन्दिरको निर्माण गरिएको छ।
मन्दिरमा सतानन्दजी, रामजानकी, लाल गोपाल, चरण पादुका आदिको पूजा गरिन्छ। धार्मिक ग्रन्थका अनुसार माता जानकी यही कुण्डमा स्नान गरी सतानन्दजीसँग शिक्षा लिने गर्थिन्।

अंगराज सर
जानकी मन्दिरको उत्तरपट्टी रहेको पाखेरी अंगराज सरको महतत्व पनि विशिष्ट रहेको छ। त्रेतायुगकालीन यो सागरलाई अरगज्जा सरको नामले समेत चिनिन्छ।
अंगराज सर पोखरीमा प्रत्येक दिन माता सीता स्नान गर्ने गरेको मान्यता रहेको छ। माता सीता उबटन लगाएर यसै पोखरीमा स्नान गर्ने गर्थिन्।
यो पोखरीमा स्नान गर्नाले चर्मरोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। यही मान्यताले धार्मिक यात्रामा आएका पर्यटकले यहाँ स्नान गर्ने गरेका हुन्।

Jankpur 4

धनुष सागर
धनुष सागरको त्रेतायुगकालिन इतिहास रहेको छ। श्रद्धालुको स्नानका लागि बाह्रै महिना घुइँचो लागेको यो सागरमा त्रेतायुगमा रामले तोडेको धनुषको तीन टुक्रामध्ये एक टुक्रा यहीँ झरेको मान्यता छ।


धनुषको भारले यो स्थान पोखरीको आकार लिएको मान्यता रहेको छ। यसलाई धनुषको टुक्रा झरेकै कारण धनुष सागरको नामले नामाकरण गरिएको छ।
चारैतिर घाट बनाएर यसलाई सौन्दर्यकरण गरिएको छ। गंगा सागरसँगै जोडेर यसलाई सौन्दर्यकरण गर्ने सरकारको तयारी छ। नेपाल न्यूज

रोहित सिंह

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । Facebook मा उहाँलाई भेट्न सक्नु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *