मधेश प्रदेश : गाउँपालिका कार्यालय अगाडि माटोमै आरसिसी ढलान
टुडेपाटी-
जनकपुरधाम, असार १३ गते ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा न्यूनतम मापदण्ड पालनै नगरी सडक ढलान कार्य भइरहेको पाइएको छ । गाउँपालिका कार्यालय कार्यालय अगाडीको सडकमा माटोमै आरसिसी ढलान थालिएको हो । ढलान सुरु गरिएको सडकमा ग्राभेल नै ओछ्याइएको छैन । सडकलाई डोजरले सम्याएर त्यसैमाथि जथाभावी फलामे छड बिछ्याएको छ । अत्यधिक माटो मिश्रित गिट्टी र बालुवाले बाटो ढलान सुरु गरिएको हो ।
सोमबार रामेश्वर निर्माण सेवा, धनुषाधामले २५ मिटर पालिकको दक्षिण टाँसिएर रहेको सडक ढलान गरेको छ । स्थानीयले राम्ररी काम गर्न पटक पटक आग्रह गरेका थिए । तर ठेकेदारले वास्तै गरेनन् ।
‘हिजो पटक पटक ठेकेदारलाई आग्रह गरे यसरी जथाभावी माटोमै ढलान नर्गुस् । सडकमा ग्राभेल ओछ्याएर राम्रो गिट्टी बालुवा प्रयोग गरी मात्र ढलान गर्नुस् । नत्र बाटो टिकाउँ हुँदैन’ स्थानीय गणेश साहले भने ‘तर ठेकेदारले कुनै वास्तै गरेन । हामी काममा बाहिर हुँदा हतारहतार २५ मिटर बाटो जथाभावी ढलान गरेका छन् ।’
स्थानीय बन्दना झाले रोक्दा रोक्दा समेत दिउँसै ठेकेदारले माटोमै जेनतेन ढलान गरेको गुनासो गरिन् ।
सडक डिभिजन कार्यालय जनकपुरको एक रोड रुपैयाँ बजेटबाट यो सडक ढलान कार्य भइरहेको छ । सडक डिभिजनका सूचना अधिकारी एवं सो ढलानको साइट हेर्ने जिम्मा पाएका इन्जिनियर दुर्गा प्रसादका अनुसार रामेश्वर निर्माण सेवा, धनुषाधामले ५३२ घनमिटर बाटोमा आरसिसी ढलान गर्न १४ असार २०७८ मा भ्याटसहित १ करोडमा टेण्डर मार्फत सम्झौता भएको थियो । अहिलेसम्म निर्माण कम्पनीले ४४३ घनमिटर आरसिसी बाटो ढलान गरिसकेको कार्यालयले जनाएको छ । असार मसान्त भित्रै उसले बाँकी काम सक्नु पर्नेछ । आर्थिक मसान्तको अन्तमा काम सुरु गरेर हतारमा निर्माण कम्पनीले कमसल काम गरिरहेको छ । सोमबार जस्तै मंगलबार बिहानै ठेकेदारले पालिका कार्यालयसंगै पश्चिम जनकपुर ढल्केवर सडक खण्ड जोडिएको सडकमा ढलान थालेपछि स्थानीयले रोकेका छन् ।
निर्माण कम्पनीले जथाभावी कमसल काम गर्दा मात्र ४ किलोमिटरको दुरीमा रहेका डिभिजन कार्यालयका अधिकारीहरु मुकदर्शक बनेका छन् । गाउँपालिका कार्यालयका जनप्रतिनिधी त झन् त्यही सडकबाट आउजाउ गर्छन् । तर चुँइक्क बोल्दैनन् ।
जनप्रतिनिधि सडक डिभिजनको कर्मचारी मिलेमतोमा यस्तो गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ । ‘गाउँपालिका अगाडीमै यस्तो काम हुँदा जनप्रतिनिधि एक शब्द नबोल्नु, नरोक्नुको कारण के हो ? सबैको मिलेमतोमा भइरहेको छ’ स्थानीय मोहन साह भन्छन् ।
Sponsored
सडक ढलान हुन थालेपछि बिहानै वडा नं. ७ का वडाध्यक्ष गंगा साह त्यहाँ पुगेका थिए । तर स्थानीये गुनासो गरेपछि उनी केही प्रतिक्रिया नै नदिइ त्यहाँबाट हिँडेका थिए । त्यो सडक उनको वडा नं. ७ को वडा कार्यालयको सामुन्ने पर्छ । जवकी यो बाटो बनाउन सडक डिभिजनले गाउँपालिका र वडा कार्यालयसित समन्वय समेत गरेको छ । वडाध्यक्ष साहले पालिका प्रमुख भोगेन्द्र मिश्रसंग समन्वय गरेको प्रतिक्रिया दिँदै आफू व्यस्त रहेको फोनमा प्रतिक्रिया दिए ।
पालिका प्रमुख झा सो बाटो गुणस्तरहीन काम भइरहेकाले रोकेको स्थानीयबाट जानकारी पाएको बताए । ‘वडाले काम गर्ने सिफारिस दिएको छ । के कति इस्टिमेट छ, मलाई थाहा छैन’ पालिका प्रमुख झाले काम भइरहेको नदेखे झै भने ‘म अर्को बाटो भएर आउँछु । अरुले आज गुणस्तरहीन काम भइरहेको जानकारी पाएँ ।’
उनले अर्को बाटो प्रयोग गरी आउने जाने गरेको प्रतिक्रिया दिएर ढाँटे पनि ढलान भइरहेको बाटोमा नटेकी कार्यालय आउन जान भने सकिने विकल्प नै छैन । गाउँपालिका कार्यालयकै अगाडी भइरहेको जथाभावी गुणस्तरहीन कामले पालिका अन्तर्गत अन्य ठाउँमा कस्तो किसिमले विकासे काम हुन्छ भन्ने उदांगो पारेको छ ।
इन्जिनियर दुर्गा प्रसादका अनुसार सडक डिभिजन र निर्माण कम्पनीसंग भएको सम्झौतामा आरसिसी ढलान गर्न १५ सेन्टिमिटर ग्राभेल, त्यसमाथि १२ एमएमको छड ओछ्याएर गुणस्तरीय सफा गिट्टी, बालुवा र सिमेन्टको मसालाले २० सेन्टिमिटर ढलान गर्नुपर्ने छ । ढलान सडकको चौडा अनुसार बढीमा साढे पाँच मिटरसम्म गर्नुपर्ने छ । निर्माणस्थलमा भने यो कुनै मापदण्डको पालना गरिएको छैन । स्थानीयले काम रोकेपछि सडक डिभिजनले तत्काल काम नगर्न ठेकेदारलाई निर्देशन दिएको छ । गुणस्तरहीन कामलाई सच्याउन र मापदण्ड अनुसार मात्र गर्न सडक डिभिजन जनकपुरका प्रमुख अरविन्द लाल कर्णले निर्देशन दिएका छन् ।
उनले भइरहेको कामको तस्वीर देखेपछि गलत रहेको स्वीकारे । र तत्काल काम रोक्न निर्देशन दिए ।
निर्माण कम्पनीका सञ्चालक विशेश्वर ठाकुरले दुई दिन यता भइरहेको काम विषयमा उनले अनभिज्ञता जनाए । ‘मैले आज मात्र थाहा पाएँ । हुन लागेको कामलाई करेक्सन गरेर अगाडि बढाउँछु’ उनले भने ।
यसअघि पनि त्यही अनुसार काम भएको जनताको गुनासो रहेको भन्ने जिज्ञासामा ठेकेदार ठाकुरले असभ्य शब्दमा गाली नै दिए । काम गरेवापत निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालयले ५५ लाख रुपैयाँ भुक्तानी दिइसकिएको जनाएको छ ।
यसअघि गत वर्ष यसै योजना अन्तर्गत भएको आरसिसी ढलानको काम पनि यसरी नै कमसल सामग्री प्रयोग गरेर जथभावी गरेको स्थानीयको आरोप छ ।