शिक्षा इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो
टुडेपाटी-
जनकपुरधाम, असार २ गते ।
शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ ।
शुक्रबार दिउँसो करिब एक दर्जनको समूहमा अज्ञात युवाहरू इकाईको कार्यालय पुगी प्रमुख शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन । प्रमुख शर्मालाई कालोमोसो दलेर युवाहरुले भ्रष्ट इकाई प्रमुख मुर्दावादको नारा लगाएर कार्यालयबाट बाहिरिएको जनाइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले घटनाको बारेमा जानकारी आएको र अनुसन्धान भईरहेको बताए ।उनले कालोमोसो दल्नेहरूको खोजी कार्य भईरहेको जनाए ।
शिक्षक सरुवा, पदस्थापना लगायतको कार्यमा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको स्रोतले जनाएको छ ।
Sponsored