मधेश प्रदेश : जग्गा विवादमा ९ वर्षीय भतिजोको हत्या, दुईजना पक्राउ
टुडेपाटी–
रौतहट, माघ ६ गते ।
प्रहरीले ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहटबाट २ जनालाई नियन्त्रणमा लिएको छ ।
माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेका छन् ।
गत मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।
रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार हत्या गरेको दिन उनीहरुले बालकको शवलाई सोही छाप्रोमा लुकाएका थिए । दोश्रो दिन राति घर भन्दा १ मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाएका थिए । कसैलाई शंका नहोस भनेर काका जयराम परिवारजनसँगै खोजतलाश गर्न पनि गएका थिए ।
Sponsored
उनीहरुले २९ गते राति लाशलाई बोरामा हालेर बागमती नदीमा फालेको अनुसन्धानले देखाएको उनले बताए ।
प्रहरीले उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत फेला पारेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिलला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।