‘मन्दिरमा बलि चढाउन’ ८ वर्षीय बालकको हत्या
टुडेपाटी–
काठमाडौँ, माघ २ गते ।
एक व्यक्तिले मन्दिरमा बलि चढाउन भन्दै आफ्नै भान्जाको हत्या गरेका छन् ।
आइतबार दिउँसो २ बजे बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले स्थानीय ८ वर्षीय भिजन घर्तीको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पाले बालकको घाँटी रेटेको स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम् प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।
उनले स्थानीयहरुलाई बुझ्दा पुरीको मासिक सन्तुलन ठीक नभएको भन्दै भने, ‘हामीसँगको प्रारम्भिक बयानमा देवीदेवताले मागेको भन्दै बलि दिएको उनले भनेका छन्, उनीबारे अनुसन्धान भइरहेको छ।’
प्रवक्ता श्रेष्ठले स्थानीयले भनेअनुसार पुरी मानसिक रोगी रहेको अथवा नरहेको मेडिकल रिपोर्टपछि मात्रै थाहा हुने बताए ।
Sponsored
आज बिदा परेकाले भोलि म्याद थप गरेर थप अनुसन्धान पक्रिया सुरु हुने उनले बताए ।
पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए।