बटेश्वरका सरकारी विद्यालय अस्तव्यस्त, गाउँपालिका अध्यक्ष महतोले मतलबै गर्न छोडे
टुडेपाटी –
जनकपुरधाम, पुस १९ गते ।
कुनै समय जिल्लाकै उतकृष्ट समुदायिक विद्यालय भनेर परिचित धनुषाको बटेश्वर गाउँपालिका—१ स्थित लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरको शैक्षिक अवस्था अस्तव्यस्त बनेको छ ।
शिक्षक नहुँदा यहाँ ९ र १० कक्षामा साउनदेखि अंग्रेजी र समाजिक विषय पढाई नै भएको छैन् ।
एसईई परिक्षा नजिकिन लागेकाले यी दुबै विषयमा पढाइ नै नभएको हुँदा विद्यार्थीलाई अनुतिर्ण हुने चिन्ताले सताएको छ । शिक्षकले पढाएको विज्ञान विषय आफुहरुले बुझ्नै नसकेको विद्यार्थीको गुनासो छ ।
‘हामीले पढाई नभएको, नबुझेको कुरा हेडसरलाई गुनासो गरेको गरै छौँ तर उहाँले वास्तै गर्नुभएको छैन्,’ १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले एकै स्वरमा भने, ‘एक त ७ घण्टीमा मुस्किलले ४/५ घण्टी पढाई हुन्छ । स्कुलमा नियमित आउने सरहरु पनि समयमा कक्षामा आउनुहुन्न । १०/१५ मिनेट जहिल्यै ढिलो हुन्छ ।’
Sponsored
पढाईसँगै व्यवस्थापन फितलो भएका कारण विद्यालयमा टिफिनपछि विद्यार्थी नै टिक्दैनन् । ७० देखि ८० जना विद्यार्थी नियमित आउने कक्षामा टिफिनपछि मुस्किलले ३० जना भेटिन्छन् ।
यसबारे पनि शिक्षकले खासै चासो नदेखाएको विद्यार्थीहरुको गुनासो छ । विद्यालयका प्रधानाध्यापक श्याम सिंहले शिक्षक अभाव रहेकाले पठनपाठन प्रभावित भएको बताए ।
‘विद्यालय व्यवस्थापन समिती गठन हुन नसक्दा शिक्षक भर्ती हुन सकेको छैन् । हामी छिटै समिती गठन गरेर शिक्षक भर्ना गरेर समस्या समाधान गछौँ,’ उनले भने ।
उनका अनुसार दुईजना बालविकास सहित १६ जना शिक्षकको भरमा १० कक्षासम्म विद्यालय चलेको छ । पछिल्लो सयम यस विद्यालयमा अनुशासनहीनता पनि बढ्दो छ ।
स्थानीय तथा विद्यार्थीहरुका अनुसार केही विद्यार्थी रक्सी, चुरोट खाएरै पनि विद्यालय जान्छन् । विद्यालयकै समयमा विद्यार्थीहरु बाहिर किराना पसल तथा खेतबारीमा धुम्रपान सेवन गरिरहेका हुन्छन् ।
बिना हेलमेटकै तिब्र गतिमा केही विद्यार्थी मोटरसाइकलमा ४/५ जना बसेर विद्यालय आउजाउ गरिरहेको भेटिन्छन् ।
दुई वर्षमा यसै विद्यालयका ३ जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । तैपनि न स्थानीय जनप्रतिनिधिले यसबारे चासो देखाएका छन्, न अभिभावकले न विद्यालय प्रशासनले नै । विद्यार्थीको यस्तो अनुशासनहीनताबारे आफुलाई थाहा नभएको भन्दै प्रधानाध्यापक सिंहले पन्छिए ।
गाउँपालिका कार्यालयले शिक्षाप्रति चासो नदेखाउँदा बटेश्वरका अन्य सबै विद्यालयको अवस्था यस्तै दैनिय छ । गाउँपालिका अध्यक्ष रामअशिष महतोले शिक्षा समबन्धी योजनाअघि सार्ने कुरा पर जाओस आजसम्म छलफल पनि गरेका छैनन् ।
विद्यालयमा राजनीति हाबी हुँदा यस्तो दुर्गती भएको सरोकारबलाहरु बताउँछन् । योग्य जनप्रतिनिधि नहुँदा विद्यालय अस्तव्यस्त बनेको बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले बताए ।
‘योग्य जनप्रतिनिधि नहुँदा शिक्षामा लगानी भएन् । जनप्रतिनिधिले विकास भनेको बाटोघाटो र भवन मात्र हो बुझेका छन् । ती कामहरुबाट आर्थिक लाभ हुन्छ तर डाइरेक्ट शिक्षाबाट मुनाफा हुन्न भनेर पनि लगानी गर्दैनन्,’ उनले भने, ‘दिनदिनै विद्यार्थी संख्या बढिरहेको छ तर शिक्षक उहिले संघ सरकारले सिर्जना गरेकै दरबन्दी अनुसार छ । हामीले शिक्षक भर्ना लगायतका अतिआश्यक योजनाहरु गाउँसभामै पेश गर्यौँ तर पारित भएन् ।’