मधेश प्रदेश : ३४ दिनदेखि बेपत्ता १५ वर्षीय किशोरको शव सेफ्टी ट्याङ्कीमा भेटियो
टुडेपाटी-
वीरगञ्ज, पुस ११ गते ।
वीरगञ्जमा हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । वीरगञ्ज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव आइतबार फेला परेको हो । मंसिर ५ गतेदेखि हराएका उनको शव गुरूकुल पन्ना इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले सेप्टिक ट्यांकीको रिङ भित्रबाट शव निकालिएको जानकारी दिए । निरजका बाबु श्रीमानको वीरगञ्जको मीना बजारमा मासु पसल छ । निरज मंसिर ५ गतेदेखि हराएको भन्दै भोलिपल्ट अभिभावकले प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
पुस १ गते निरजको परिवारले उनको अपहरण भएको र अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको भन्दै प्रहरीलाई लिखित जानकारी गराएका थिए । अपरिचित व्यक्तिले बुवा श्रीमान पासवानको मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेको उजुरीमा उल्लेख थियो ।
प्रहरीले अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूले दिएको बयानको आधारमा सेप्टिक ट्यांकीबाट निरजको शव बरामद गरेको प्रहरील जनाएको छ ।
घटनाामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । शंकास्पद अन्यको पनि खोजी भइरहेको उनले बताए ।
Sponsored