TodayPati

मधेश प्रदेश : काँग्रेसबाट को-को छन् संसदीय दलको नेताको दौडमा ?

टुडेपाटी-
जनकपुरधाम, पुस १ गते ।

मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेताको लागि दौडधुप सुरु भएको छ । प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित प्रदेशसभाको दोश्रो ठूलो दल काँग्रेसमा दलका नेता बन्न नवनिर्वाचित सांसदहरुले लविङ थालेका हुन् ।
यो प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ । त्यस कारण दलको नेता बन्ने आकंक्षी बढी छन् । यधपी प्रबल दाबेदारका रुपमा काँग्रेस मधेश प्रदेशका सभापति समेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्ण यादव र निवर्तमान संसदीय दलका नेता समेत रहेका नवनिर्वाचित सांसद रामसरोज यादव हुन् । त्यस्तै दाबेदारका रुपमा निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नवनिर्वाचित सांसद विरेन्द्र सिंह र जनार्दन क्षेत्री पनि छन् । क्षेत्री काँग्रेसका पर्सा जिल्ला सभापति हुन् ।

दलको नेताको दाबेदार चारैजना संस्थापन पक्षकै हुन् । तर, कृष्ण वा रामसरोज मध्ये एकजना दलको नेता बन्ने अवसर पाउन सक्ने प्रवल सम्भावना रहेको काँग्रेसकै नेताहरु बताउँछन् । पहिला पनि दलको नेता रहिसकेकाले फेरि पनि दलको नेताको आकंक्षी हुनु स्वभाविक रहेको रामसरोजको तर्क छ । उनी दलको नेता भएर यसअघि झण्डै एकवर्ष जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा महत्वपूर्ण भौतिक पूर्वाधार विकास मन्त्री रहिसकेका छन् । आकांक्षीहरु आ–आफ्ना आधार प्रस्तुत गर्दै दलका नेताका लागि कसरत लागेका हुन् । ‘म पहिला पनि दलको नेता रहिसकेको छु । मसंग दलको नेताको अनुभव छ । त्यसैले फेरि पनि दलको नेतामा मेरो दावी स्वभाविक हो,’ रामसरोजले भने ।

Sponsored


पर्टीको मधेश प्रदेश सभापति रहेकाले आफ्नो दावी स्वतः हुने कृष्ण बताउँछन् । ‘यो प्रदेशको सभापतिको हैसियतले म दलको नेताको स्वाभाविक आकंक्षी हुँ । तर पनि संगठन भित्र छलफल गरेर सहमतिमा टुंग्याउँछौं । छलफल भइरहेको छ ।’ कृष्णले भने ।

काँग्रेस संस्थापन इतर पक्ष शेखर कोइराला पक्षबाट कोही पनि दलका नेताका लागि आकंक्षा जाहेर गरेका छैनन् । इतर पक्षका प्रत्यक्ष निर्वाचित सांसद कौशल किशोर यादवले पक्षमा छलफल गरेर मात्र केही कुरा भन्ने बताए । मधेश प्रदेशमा सत्ता गठबन्धन काँग्रेस नेतृत्वमै सरकार बन्ने सम्भावनाले दलको नेता बन्न बढी कसरत भइरहेको छ । दलको नेता बने सरकार निर्माण हुँदा स्वतः मुख्यमन्त्री बन्न पाउने छन् ।

मधेश प्रदेशमा संस्थापन पक्षकै बाहुल्यता छ । काँग्रेसका २२ सांसद मध्ये प्रत्यक्ष र समानुपातिक २–२ जना गरी ४ जना मात्र संस्थापन इतर पक्षका हुन् । काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको भूमिका पनि दलको नेता बनाउन निर्णायक हुने चर्चा छ । १४ औं महाधिवेशनदेखि देउवा संग चिसिएको निधिको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको छ । त्यस कारण कृष्ण वा रामसरोज कसलाई निधिले कसलाई ग्रिन सिग्नल दिन्छन्, त्यसमा भर पर्ने काँग्रेसका एक नेताले बताए ।

Sponsored

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट रहेको छ । प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल बनेको छ । १६ सिटसहित जसपा तेश्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छाठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेको छ । प्रत्यक्षमा ६ सांसद स्वतन्त्र जितेका छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजितेपनि समानुपातिकतर्फ एक÷एक सिट जितेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *