TodayPati

महोत्तरी १ : को हुन् लक्ष्मी महतो ?

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

लक्ष्मी महतो महोत्तरी क्षेत्र नम्बर–१ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । बाल्यकालदेखि खरो रूपमा प्रस्तुत हुने महतो क्रान्तिकारी स्वभावका नेता हुन् । समाजसेवीको नामले समेत परिचित छन् उनी । ५८ वर्षीय लक्ष्मी तत्कालीन निगौल गाउँ विकास समिति (गाविस)का पूर्व अध्यक्ष हुन् । लोकप्रियताको कारण नै उनी स्वतन्त्रबाट जितेका थिए । त्यसैले उनलाई धेरैले ग्रामीण भेगमा मुखियाजी भनेर चिन्ने चिनिन्छन् ।


समान्य किसान परिवारमा जन्मेका उनी बुवा रामचन्द्र महतो र आमा निर्सी देवीका तीन छोरा मध्येका साइला हुन् । १० कक्षासम्म अध्यन गरेका महतो खेतीपातीमै आमाबुबालाई सघाउँदै पछिल्लो समय व्यवसाय तिर लागे । १२ वर्षकै उमेरदेखि कुस्ती खेल्ने महतो आफूभन्दा १० गुणा बढी तागत भएका पहलवानलाई पनि पछाड्थे ।

Sponsored

टिभी च्यान हेरेर भारतीय स्वर्गी क्रान्तिकारी नेता सुवासचन्द्र बोसको विचारबाट प्रभावित भएकै कारण ७ घण्टा साइकल चढेर भगत सिंह, सुकदेव सिंह, राजगुरु लगायतका क्रान्तिकारी नेताबारेमा बनेको फिल्म हेर्न भारतको सितामढी जान्थे ।
जनकपुरधामका मारवाडीबाट प्रभावित भएर उनी २०४९ सालमा आफ्नै गाउँ निगौलमा इट्टाभट्टा संचालन सुरु गरे । कक्षा १० मै पढ्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका उनी विस्तारै राजनीतिमा पनि सक्रिय भए । २०४८ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेसमा सक्रिय हुँदाहँुदै २०५४ सालको स्थानीय निर्वाचनमा पनि टिकट पाएनन् । समर्थकले उनैलाई चुनाव लड्न दबाब दिए । स्वतन्त्रबाट चुनाव लड्दा महतोले कांग्रेस, एमाले र राप्रपाका बलिया उम्मेदवारलाई हराए । बहुमत नहुँदा पनि गाविसमा उनले पाँच वर्षे कार्यकालमा ऐतिहासिक काम गरेका थिए ।


२०५६ सालमा जिल्ला विकास समिती महोत्तरीले जिल्लाको ७६ गाविसमध्ये निगौल गाविस उत्कृष्ट हुँदा उनलाई पुरस्कार प्रदान गरेछदान गरेको थियो । सत्य र न्ययायको अनुयायी बताउने महतोलाई त्यसै कारण क्रुर पनि कतिपयले भन्थे । ‘त्यतीबेला गाविसमा शासन गर्दा राजा जस्तै मेरो निती थियो । शान्ति सुरक्षा, न्याय र विकास प्राथमिकतामा थियो । न्याय गर्दा अलि क्रुर बन्नुपर्छ । आफ्नो, विरानो र ठूलोमान्छे ठानेर कसैलाई छुट दिइन् । त्यसैले केहीले मलाई तानाशाह पनि भन्न भ्याए,’ उनले थपे ।

उनले गरिब विपन्न र समाजलाई परेको बेला आर्थिक सहयोग गर्नबाट कहिल्यै पछि परेनन् । झण्डै डेढ दर्जन सार्वजनिक दलान, मन्दिर, विद्यालय लगायतका भौतिक संरचना निर्माणमा आर्थिक सहयोग गरेको विवरण रहेको उनका छोरा मनोज महतोले सुनाए ।

Sponsored

हुँदाहुँदै २०७२ सालमा मधेसका एजेण्डा सहित मधेस आन्दोलन भयो । उनी आन्दोलनमा दिनरात खटे । त्यसै क्रममा असई थमन विक हत्या प्रकरणमा उनको नाम पनि मुछियो । यद्यपी ती मुद्दा झुटो रहेको र राज्यले जबर्जस्ती फसाउन खोजेको महतोको दाबी छ ।

त्यसअघि महतोले २०७० सालको चुनावमा यहीँ क्षेत्रबाट आफ्नी श्रीमती रामकुमारी महतोलाई तत्कालीन सदभावना पार्टीबाट चुनाव लड्न सहयोग गरे । यद्यपी उनी पराजित भइन् । त्यतीबेला पराजित भएकी रामकुमारी २०७४ सालको स्थानीय निर्वाचनमा गौशाला नगरपालिकाको उममेयरमा लडिन् तर दोस्रो पटक पनि उनी झिनो मतले पराजय बेहोरिन् । गत स्थानीय तहको निर्वाचनमा भने उनका छोरा डा. दिपेन्द्र महतो नगरपालिकाको मेयरमा विजयी भए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएपछि लक्ष्मी उम्मेदवारी दिने तरखरमा थिए । महतोको लोकप्रियताकै कारण नेकपा एमालेले उनलाई टिकट दिएर उम्मेदवार बनाउन तयार भयो ।

मधेस केन्द्रित दलहरू विचारको राजनीति छोडिसकेपछि आफु एमाले प्रवेश गरेर यहाँका उत्पीडित र गरिब जनताका लागि उम्मेदवारी दिएको उनको भनाई छ । ‘गिरिराजमणि पोखरलेले १५ वर्ष यहाँबाट जितेर पटक–पटक मन्त्री भए तर गरिबका लागि केही गर्न सकेनन् । हरहिसाब पनि दिएनन् । त्यसैले यहाँका जनताका लागि काम गर्न पार्टीले मलाई उम्मेदवार बनाएको छ,’ उनले भने ।

गिरीराजमणि पोखरेल सत्ता गठबन्धनको बलिया उम्मेदवार भएकाले महतोलाई जित निकाल्न भने त्यति सहज छैन । तर समाजमा आफूले गरेको योगदान, विगतको पोखरेलको तीन कार्यकालको कामले असन्तुष्ट जनताले आफूलाई जिताउने लक्ष्मीको विश्वास छ । यसपटक पनि पोखरेल र लक्ष्मीबीच कडा प्रतिस्पर्धा हुने चुनावी चर्चा छ । अधिकृतको जागिर छाडेर बर्दिबासका मेयर प्रह्लादा क्षेत्रीको समूहबाट स्वतन्त्र उम्मेदवारी दिएका पोषण थापा पनि कमजोर उम्मेदवार छैनन् । यसले त्रिपक्षीय प्रतिस्पर्धा रहेको कतिपयको बुझाई छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *