महोत्तरीमा दाइजोका लागि चिकित्सक श्रीमानबाट हिंसा, कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार
टुडेपाटी–
महोत्तरी, कार्तिक २७ गते ।
महोत्तरीमा दाइजोका लागि घरेलु हिंसा गरेको घटना बाहिरिएपछि दोषीलाई कारवाही गर्नका लागि मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।
उजुरी प्राप्त भएपछि आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा के कसो भएको हो छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र सो बारेमा आयोगलाई पनि जानकारी गराउन पत्र पठाएको छ ।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई–मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सो संग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको र सो समस्याहरु प्रति आयोग गम्भीर रहेको बताए ।
करिब ८ महिना अघि महोत्तरीको रामगोपालपुर घर भएको डा. पंकज चौधरीसंग विवाह भएको नेहा चौधरीलाई दाइजोको नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको हो ।
Sponsored