मधेश प्रदेश : नक्कली नोट र हतियारसहित ६ जना पक्राउ
टुडेपाटी–
रौतहट, कार्तिक २६ गते ।
नेपाली नक्कली नोट र अवैध हतियारका साथ रौतहट प्रहरीले २ महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको मौलापुर नगरपालिका ७ का वर्ष २३ का राजाराम साह, देवाहिगोनाही ६ का वर्ष २० का धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका ६ का वर्ष २५ का सोनु भन्ने आनन्द कुश्वाहा, वर्ष ४५ कि प्रतिमा देवी कुश्वाहा, वर्ष २२ कि अम्रीता कुमारी, वर्ष १९ का ब्रीजकिशोर मुखियालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ठाडामगरले बताए ।
प्रहरीले उनीहरूको साथबाट नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना ३३ प २४५१ नम्बरको होन्डा साईन मोटरसाइकल र ना ३ प १६८१ नम्बरको बजाज बक्सर मोटरसाइकल बरामद गरेको एसपी मगरले जानकारी दिए ।
मौलापुर ७ मा नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो । उनको घरमा खानतलासीको क्रममा गर्दा नक्कली नोटका साथै भितामाथि लुकाई राखेको कटुवा पेस्तोल थान १ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मलले बताए ।
सो क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो ।
Sponsored