भारतीय मिडिया गुहार्न निहारीका नयाँ दिल्लीमा
टुडेपाटी–
काठमाडौँ, कार्तिक ६ गते ।
बलात्कार पीडित भनिएकी निहारीका सिंह राजपुतले डीएनए रिपोर्ट लुकाइएको भन्दै अन्तर्राष्ट्रिय मिडिया गुहार्न भारतको नयाँ दिल्ली पुगेकी छन् ।
राजपूत आफ्नो माग नेपालमा सुनवाइ नभएको भन्दै मुद्दा अन्तर्राष्ट्रियकरणका लागि नयाँ दिल्ली पुगेकी छन् । उनी पाँच दिनअघि अर्की ‘घरेलु हिंसा पीडित’ बिनु यादवका साथमा दिल्ली गएकी हुन् ।
आफ्नो मुद्दालाई भारतीय लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ल्याएर नेपालको न्यायिक निकायलाई दबाब पुर्याउन नयाँ दिल्ली आएको निहारिकाले बताइन् । आफ्नो बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको दुई महिना बितिसक्दा पनि रिपोर्ट सार्वजनिक नगरिएको र आरोपीलाई सजायबाट उन्मुक्ति दिने चलखेल गरिएको उनको आरोप छ ।
निहारिकाले नयाँ दिल्लीबाट नजिकै रहेको नोयडा फिल्म सिटीमा पुगेर केही भारतीय टेलिभिजन च्यानलका पत्रकारहरूसँग आफ्नो मुद्दाबारे जानकारी गराएकी छन् ।
निहारीकाले आजतक, एबीपीन्यूज, न्यूज २४ लगायतलाई आफ्नो मुद्दाको फेहरिस्त दिएको र उनीहरूले अध्ययन गरेर एक हप्ताभित्र रेस्पोन्स गर्ने आश्वासन दिएको बताइन् ।
Sponsored
निहारीकाले परिस्थिति आएको खण्डमा नयाँ दिल्लीमै राष्ट्रपति भवन वा संसद् भवन अगाडि पनि अनसन बस्न सक्ने बताइन् ।
जनकपुर उच्च अदालतको आदेशमा बच्चा र आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गरिएको थियो । गत २६ भदौमा डीएनएका लागि दुवैको नमुना लिइएको भए पनि अहिलेसम्म रिपोर्ट सार्वजनिक भएको छैन । नमुना लिँदा २१ दिनभित्र रिपोर्ट आउने भनिएको थियो ।