मधेश प्रदेश : करेन्ट लागेर दुईजनाको मृत्यु
टुडेपाटी-
वीरगञ्ज, असोज २५ गते ।
वीरगञ्जमा छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा धोविनी गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुव प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपका अनुसार सोमबार साँझ साढे ६ बजे वीरगञ्ज–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने सैफुल्लालाई करेन्ट लागेको थियो । प्लाष्टर गर्ने क्रममा विद्युतको नांगो तारमा अचानक उनले छुन पुगेका थिए ।
सोमबार दिउँसो १२ः२५ बजे वीरगञ्ज–८ स्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने ध्रुवलाई करेन्ट लागेको थियो । करेन्ट लागेर भुईंमा पछारिएका उनलाई तत्कालै उपचारको लागि नजिकैको आशाराम अस्पतालमा उपचारको लागि लग्दा मृत्यु भइसकेको थियो ।
दुबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।