TodayPati

धनुषा क्षेत्र नं. ३ मा अनिल झालाई जित्न कति सहज ?

टुडेपाटी-
जनकपुरधाम, असोज २५ गते ।

जुन सुकै निर्वाचनको चर्चा आकर्षणको केन्द्र धनुषा क्षेत्र नं. ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । पाँचदलीय गठबन्धन घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन घटक नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । दुबैजना निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार भने होइन् । यस अघि २०७० को दोश्रो संविधानसभा निर्वाचनमा उनी काँग्रेस नेता बिमलेन्द्र निधिसंग प्रतिस्पर्धा गरेकी थिइन् । निधिबाट उनी पराजित भएकी थिइन् । यस क्षेत्रमा प्रत्यक्ष तर्फका सदाबहार काँग्रेसका उम्मेदबार निधि समानुपातिक पद्धति रोजेर सांसदका लागि सुरक्षित भइसकेका छन् । लोसपा नेता झा यस क्षेत्रका लागि नयाँ अनुहार हुन् ।

धनुषा ३ मा बिगत हुने गरेको जस्तो रोचक प्रतिस्पर्धा यस पालि नहुने चर्चा छ । गत २०७४ मा दुई हैवीबेट मुख्य प्रतिस्पर्धी लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो र काँग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट ब्याक भएका छन् । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महतोले काँग्रेस नेता निधिलाई २ हजार ९०३ मतान्तरले पराजित गर्दै जित निकालेका थिए । महतो ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए ।

Sponsored

फेरि पराजित हुने डरले निधि समानुपातिक पद्धतिमा गए भने महतो विगत जस्तो मतदाताको धराधतल नदेखेपछि यो क्षेत्र छाडेर गृह जिल्ला सर्लाही २ मा उम्मेदवारी दिएका छन् । विगतको चुनावमा एमालेले आन्तरिक रुपमा राजेन्द्रलाई सहयोग गरेको थियो । जसमा भूमिका एमाले नेता रघुवीर महासेठ र जुलीको थियो । जुली यो क्षेत्रमा एमालेबाट उम्मेदवार भएपछि उनको गुण तिर्न महतो ब्याक भएको पनि चर्चा छ । जुलीसंग प्रतिस्पर्धा गर्न नचाहेपछि लोसपाबाट अनिल झाले उम्मेदवार बनेका छन् । झा २०७४ को निर्वाचनमा रौतहट २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसपटक पाँच दलीय भागवण्डामा सो क्षेत्र काँग्रेसको भागमा परेपछि धनुषा ३ उनको रोजाइमा परेको हो ।

धनुषा २ मा जुली र झा बीच प्रतिस्पर्धा हुने देखिएको छ । अन्य उम्मेदबार त्यति प्रभावशाली देखिँदैनन् । यो क्षेत्र झाको लागि नयाँ भएकोले जित नकाल्न भने चुनौती देखिन्छ । २०७४ को निर्वाचन जस्तो अहिले यो क्षेत्र मधेशवादीको लागि बलियो जन आधार देखिँदैन । दुवै मधेश केन्द्रित दल जसपा र लोसपा दुई अलग गठबन्धनमा छन् । न विगत जस्तो मधेश आन्दोलनको प्रभाव छ । त लोसपासंग स्थानीय सरकारमा बलियो पक्कड ।

धनुषा क्षेत्र नं. ३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडा मध्ये १७ वटा, नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा पर्छ ।
गत स्थानीय तहको नतिजाको अंकगणित हेर्ने हो भने भने यो क्षेत्र काँग्रेसको बलियो आधार क्षेत्र देखिन्छ । दोश्रोमा एमाले छन् । ३८ मध्ये आधा संख्या अर्थात १९ वटा वडा एकलै काँग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले ४, लोसपाले ३ र नेकपा एकीकृत समाजवादीले १ वटा वडा जित निकालेको छ ।

Sponsored

गत स्थानीय चुनावमा धनुषा क्षेत्र नं. ३ मा पर्ने ३८ वटै वडाको वडाध्यक्ष पदमा पार्टीहरुले पाएको अंकगणित केलाउने हो भने प्रथम स्थानमा काँग्रेस नै देखिन्छ । उसको २२ हजार ४२९ मत छ । दोश्रोमा एमाको १६ हजार १६ मत छ । जसपा र लोसपाको उस्ता उस्तै अलि कमबढी पाएको देखिन्छ । जसपाले ८ हजार २२४ र लोसपाले ८ हजार १६३ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ७१३ र सबभन्दा कम नेकपा माओवादी केन्द्रले ६५६ मत मात्र पाएको निर्वाचन आयोको तथ्यांकमा छ । पाँच दलीय गठबन्धनको सो मतको आधारले बलियो देखिन्छ । दोश्रो स्थानमा विपक्षी गठबन्धन छ ।

गठबन्धनबाट लोसपाका उम्मेदवार झाको जितको लागि काँग्रेससको मत बढी महत्व राख्छ । तर, गत स्थानीय तहमा जनकपुरमा गठबन्धन हुँदा पनि काँग्रेसले इमान्दारिता निर्वाह नगरेको नजिर सबैको सामुन्ने छ । यो चुनावमा काँग्रेस मतको अन्तरघात हुने कुनै सम्भावना नरहेको काँग्रेसका नेता तथा मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको दावी छ ।

‘पानीको जति बाँधेपनि अलि अलि चुहिन्छ नै । यो कुनै पनि निर्वाचनमा हुन्छ । तर यसपालि अन्तरघात हुँदैन भन्नेमा ढुक्क हुनुस् । गठबन्धनको जित निश्चि छ’ धनुषा ३ (क) प्रदेशसभामा उम्मेदवारी समेत दिएका उनले भने ।
निधि र महतो ब्याक भएपछि जुलीको पल्ला भारी भएको आम चर्चा छ । आफ्नो लागि यो क्षेत्र जित्न खासै चुनौतीपूर्ण नहुनेमा जुली ढुक्क छन् । उनले आफ्नो लागि यो क्षेत्र जित्न अब सहज भएको बताउँछिन् । ‘म जनताले विश्वास गरेको पार्टी र जनताले विश्वास गरेको उम्मेदवार हुँ । मेरो जितले यो क्षेत्रको विकास, समृद्धि र सुशासन हुन्छ भन्ने जनताको बुझाइछ । यो नै मेरो जितको आधार हो ।’ जुलीले भनिन् । पछिल्लो पटक यो क्षेत्रमा एमालेको प्रभाव तथा संगठन निरन्त विस्तार गरिरहेका छन् । विगत २०७४ को भन्दा यो क्षेत्रमा एमालेको संगठन धेरै सुदृढ र विकसित भएको छ ।

उम्मेदवार झा लोसपाका नेता राजेन्द्र महतो पहिला यो क्षेत्रबाट जितेको आधारलाई जितको पहिलो आधार रहेको दावी गर्छन् । ‘लोसपा यसअघि यो क्षेत्रमा जितेको थियो । त्यस बेला यहाँ विकासको महत्वपूर्ण कामहरु भएको छ । गठबन्धनको भारी मत छ । यी यस्ता म लगायत गठबन्धन जित्ने थुप्रै आधारहरु छ ।’ उनले भने ।

अनिल झा धनुषा ३ मा उम्मेदवार बनेपछि जुलीको पल्ला भारी भएको विश्लेषण भइरहेको छ । जुलीको हिसाबले झा कमजोर उम्मेदवार रहेको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् । ‘गठबन्धन हुँदा यो क्षेत्रमा राजेन्द्र महतो ब्याक हुनु कतै नकतै समस्या छ । जुलीको हिसाबमा राजेन्द्र महतो नै टक्कर दिने उम्मेदवार हुनु हुन्थ्यो । जित्न पनि सक्नु हुन्थ्यो उहाँ । तर उहाँ ब्याक भएपछि अहिले यो क्षेत्रमा जुली भारी उम्मेदवारको रुपमा देखिन्छ ।’ उनले भने ‘यद्यपी अहिले को हार्ने जित्ने आकलन गर्न गाह्रो छ । गठबन्धनमा अन्तरघात नभए अवस्था फरक हुन सक्छ’

काँग्रेस र नेता बिमलेन्द्र निधिको भूमिकाले एमालेकी उम्मेदवार जुलीलाई चुनौति र लोसपाका उम्मेदवार झालाई सहज हुन सक्ने विश्लेषण पनि राजनीतिक वृतमा भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *