जनकपुरधामको ऐतिहासीक सरस्वती माध्यमिक विद्यालयको पुनःनिर्माण हुँदै
टुडेपाटी–
जनकपुरधाम, असोज ५ गते ।
जनकपुरधामको ऐतिहासीक सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माण हुने भएको छ । अनुमानित १० करोडको लागतमा पुनः निर्माण हुन लागेको सो विद्यालयको बुधवार भूमि पुजन गरिएको छ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र शहरी विकासमन्त्री मेटमणि चौधरीले संयुक्त रुपमा सो भवन निर्माणका लागि भूमिपुजन गरेका हुन् ।
शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माणले भ्याटसहित अनुमानित १० करोडको लागतमा विद्यालयको पुरानै शैलीमा भवनसहितको संरचना निर्माण गर्न लागेको हो ।
सरस्वती माविको विद्यालयको भवन निर्माणको जिम्मा गणपति बाबा निर्माण सेवा प्रा.लि. धुलिखेलले भ्याटसहित ७ करोड ७ लाख ६६ हजार ९५६.७८ रुपैयाँमा ठेक्का लिएको छ ।
निर्माण कम्पनीले १५ महिनाको अवधिमा विद्यालयको पुरानै मौलिक वास्तुकलामा आधारित भई आधुनिक निर्माण सामग्री प्रयोग गरी दुई तल्ले आर.सी.सी भवन, ३२५ विद्यार्थी क्षमता भएको कक्षाकोठा ९ वटा, स्टोर रुम, मिटिङ्ग रुम, प्रत्येक तल्लामा महिला–पुरुष शौचालय, निर्माण र परिसर सुधार कार्य गर्नेछ ।
Sponsored