संजय टकलाले उच्च अदालतबाट पाएनन् राहत, जिल्लाकै जन्मकैद फैसला सदर
टुडेपाटी-
जनकपुरधाम, असोज ५ गते ।
सञ्चार उद्यमी अरुण सिंघानिया हत्या प्रकरणमा पूर्वमन्त्री समेत रहेका संजय कुमार साह टकलाले राहत पाएनन् । जिल्ला अदालतको जन्मकैद फैसलालाई उच्च अदालत जनकपुरले हुबहु सदर गरेको हो ।
मुख्य योजनाकार संजय कुमार साह (टकला)लाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।
उच्च अदालतको इजलास नं. ३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको हो । न्यायधीश द्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिएको उच्च अदालत जनकपुरका राजिष्टार खडगराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सो मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादव बहस गरेका थिए भने जाहेर बालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्की बहस गरेका थिए ।
यस्तै प्रतिवादी संजय साहको तर्फबाट बरिष्ठ आधिवक्ता सुरेन्द्र महतो, बरिष्ठ आधिवक्ता श्यामकुमार मिश्र, बरिष्ठ आधिवक्ता धर्मेन्द्र शर्मा, आधिवक्ता प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंघ र दिपेन्द्र सिंघसहित ६ जनाले वकालत गरेका थिए ।
जनकपुर टुडेका संचार उद्यमी सिंघानियाको ०६६ साल फागुन १७ गते होलीका दिन जनकपुरमा गोली दागेर हत्या भएको थियो । सो मुद्दामा २०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असंतुष्टी जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको थियो । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।
पूर्वमन्त्री समेत रहेका साहकै निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई पनि जिल्लाले जन्मकैदको फैसला सुनाएको थियो । ।
यस्तै सिंघानिया हत्या आरोपमा पूर्वपक्षको लागि थुनामा रहेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको थियो भने घटनामा संलग्न देखिएका रामविनोद यादवलाई ३ बर्ष कैद फैसला सुनाएको थियो ।
ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनलाई सफाइ दिएको थियो भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरेको थियो ।
Sponsored
साह पाँचजनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डको मुख्य योजनाकारको आरोपमा पनि जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै २०७५ चैत १४ गते जन्मकैदको सजाय सुनाएको थियो । मिति २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको बेला बम विस्फोट हुँदा ५ जनाको ज्यान जानुको साथै ३२ जनाभन्दा बढी घाइते भएका थिए । सो मुद्दामा साहलाई उच्च अदालत जनकपुरले केही सजाय घटाएर फैसला दिएको थियो ।