मधेश प्रदेश : स्रोत नखुलेको लाखौँ रुपैयाँ र सुनका गहनासहित दुई जना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, साउन ३१ गते ।
स्रोत नखुलेको ३६ लाख नेपाली रुपैयाँ र सुनका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ परेका छन्।
डोटीको शिखर नगरपालिका–७ घर भइ काठमाडौँको कपन–१० बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुरको चाँगु नारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय विशाल खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सोमबार साँझ सर्लाहीको बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेज स्थित नयाँ रोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुबै जना सवार मोटरसाइकलमा रहेको लेदरको झोलाबाट ३६ लाख रुपैयाँ र १९ लाख ५८ हजार रुपैयाँ बराबरको सुनको गहनाहरु बरामद गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए।
बरामद भएको रुपैयाँ र सुनको गहना आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा पठाइएको सर्लाही प्रहरीले जनाएका छन् ।
Sponsored