१४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गर्ने पाँच जना वीरगञ्जबाट पक्राउ
टुडेपाटी-
वीरगञ्ज, साउन ८ गते ।
१४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गरेको आरोपमा वीरगञ्जबाट पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर-९ रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोको सञ्चालक सदाम हुसेन, स्टुडियोमा काम गर्ने वडा नम्बर-१० का फैयाज आलम, वडा नम्बर २४ बस्ने गणेश मोबाइल पसल सञ्चालक संजित गुप्ता, वडा नम्बर ९ रानीघाट बस्ने चन्दन मोबाइल सेन्टरका सञ्चालक कुन्दन यादव, सोही स्थानका गढीमाई स्टुडियोका सञ्चालक प्रदीप साह रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको गेटमा रहेको फ्रेस फोटो स्टुडियोको सञ्चालक हुसेनले धोबिनी गाउँपालिका-१ बस्ने सागिर आलमसँग राहदानी फारम भर्नको लागि सोको फारम चार्ज दुई सय र राहदानी १४ दिन भित्र मगाई दिन्छु भनि २५ सय लिएका थिए ।
आफूसँग स्टुडियो सञ्चालकले पैसा लिएको भनि आलमले प्रहरीलाई जानकारी गराएपछि अनुसनधानको क्रममा हुसेनसहित पाँच जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले जानकारी दिए।
पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कार्कीले बताए ।
Sponsored