वीरगञ्जमा दुई दिनदेखि बेपत्ता बालिकाको शव भेटियो, हत्या आशंकामा २ जना पक्राउ
टुडेपाटी-
वीरगञ्ज, साउन ७ गते ।
वीरगञ्जमा दुई दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । शनिबार बिहान वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको ४ वर्षीया छोरी सुहाना खातुनको शव फेला परेको हो ।
आज बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।
बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्का एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Sponsored