बामपन्थी समुहबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि छलफल चलिरहेको छ : अध्यक्ष प्रचण्ड
टुडेपाटी–
जनकपुरधाम, साउन ७ गते ।
गठबन्धन दलमै रहेको बामपन्थी समूहबीच चुनावी मोर्चा तथा पार्टी एकताको लागि छलफल चलिरहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
शनिवार सर्लाहीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समुह फुटिसकेको र औपचारीकता मात्र बाँकी रहेको भन्दै उनले भने, ‘दुबै पक्षसँग हाम्रो छलफल चलिरहेको छ । उपेन्द्र यादवजी नेतृत्व गरेको पार्टीसँग हामी छदैँछु, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उनीहरुले भन्दै आउनु भएको छ । त्यस कारण उनीहरुपनि गठबन्धन बाहिर जाने कुरा छैन् ।’
गठबन्धन भित्र रहेको सबै बामपन्थी पृष्टभूमी भएका समूहसँग छलफल चलिरहेको र गठबन्धन भित्रकै बामपन्थी समुहबीच राम्रो समझदारी बनाउनुपर्ने भन्दै उनले भने, ‘र सकियो भने चुनावी मोर्चापनि हुन सक्छ । पार्टी एकताको लागि संयोजन समिति पनि हुन सक्छ । हाम्रो छलफल चलिरहेको छ तर अहिले अन्तिम निर्णयमा पुगेका छैनौ । सम्भवतः केही दिन भित्र एउटा निर्णयमा पुग्छौँ ।’
यस्तै नागरिकता विधेयक सदनबाट पारित भएपछि ६÷७ लाख नेपालीले नागरिकता पाउने उनले बताए ।
नागरिकता अभावका कारण नेपालीहरु धेरै कामबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसको समाधान भएको बताए। उनले पारित भएको नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने अध्यक्ष प्रचण्डले बताए ।
Sponsored
उनले यसअघि जनकपुरधाम आउँदा नागरिकताको समस्या सदनको पहिलो बैठकबाट समाधान गर्ने बताएको भन्दै उनले भने, ‘बुवा आमा नागरिक भएका सन्तानले नागरिकता पाउने कुरा हुन्छ, त्यो व्यवस्था गरिन्छ मैले तपाईहरुको माध्यमबाट आमजनतालाई भनेको थिए । आज आउँदा हिजो नै सदनबाट नागरिकता विधेयक पारित भएको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष प्रचण्डले मधेसका जनतालाई यो खबर सुनाउन पाँउदा आफुलाई गर्भ महसुस भइरहेको बताए ।