चुरे वन जङ्गल संरक्षण अभियानद्वारा पुनः आन्दोलनको घोषणा
टुडेपाटी-
जनकपुरधाम, असार २५ गते ।
विगतमा भएको सम्झौता मधेश प्रदेश सरकारले पूरा नगरको भन्दै चुरे वन जङ्गल संरक्षण अभियान आन्दोलनको घोषणा गरेको छ ।
चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रमदेखि आमरण अनसन गर्दा पनि चुरेको विनाश नरोकिएको भन्दै अभियानले पुनः आन्दोलनको घोषणा गरेको हो ।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी अभियानले आन्दोलनको घोषणा गरेको छ ।
अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले विगतमा विभिन्न प्रकारको आन्दोलन तथा जनकपुरधामको जनक चौकमा गरेको आमरण अनसनपछि ७ बुँदे सहमति हुँदा पनि माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको बताए ।
उनका अनुसार असार २७ गते जनकपुरधाममा रहेका तीनै तहका सरकारका निकायहरू, विभिन्न राजनीतिक दललाई स्मरण पत्र दिने, २८ गते दिउँसै मशाल जुलुस निकाल्ने, असार २९ गते पुस्तौँदेखि तराई मधेशमा वास्तविक सुकुम्बासी रहेका महिलाहरूले झाडु जुलुस निकाल्ने र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाम बन्द गर्नेसम्मको आन्दोलन घोषणा गरेको हो ।
Sponsored
तराई मधेशका चुरे तथा बुट्यान क्षेत्रमा अतिक्रमण हुने क्रम जारी रहेको, सिरहा जिल्लाको चौहर्वामा रहेको मारुती सिमेन्ट कारखानाले ३ विघा ३ कठा चुरेको जग्गा हडपेको र सुकुम्वासीको नाउँमा जग्गा भएकाहरूलाई लालपूर्जा वितरण गर्ने काम भएकाले बदर हुनुपर्ने माग आन्दोलनकारीको छ ।
यादवले अहिले गर्न लागेको आन्दोलनबाट उत्पन्न हुने अवस्थाको सम्पूर्ण जिम्मेवार तीनै तहका सरकार हुने बताए ।