धनुषा : डिप बोरिङ निर्माणमा अनियमितता प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
टुडेपाटी–
जनकपुरधाम, असार २५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकामा डिप बोरिङ निर्माणमा अनियमितता भएको प्रकरणमा छानविन थालेको छ।
तत्कालीन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखाअधिकृत र उपभोक्ता समितिले आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको विभिन्न वडामा ११ वटा २५० एमएम/१५० एमएम डिप बोरिङ निर्माणमा मिलेर व्यापक अनियमितता गरेको उजुरीपछि अख्तियारले अनुसन्धान सुरू गरेको हो।
अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी विकासकुमार मिश्रले अनियमितता भएको उजुरी परेपछि अनुसन्धान थालिएको जानकारी दिए।
विभिन्न वडामा अलग अलग उपभोक्ता समितिले ११ वटै बोरिङ निर्माण व्यवसायी मार्फत गराएका थिए।
११ मध्ये ७ वटा बोरिङ पूर्वाञ्चल ग्राउण्डवाटर ट्युबबेल प्रा.लि. र ४ वटा एन.के.डी.कन्सट्रक्सन प्रालिले गरेका थिए।
Sponsored
ती निर्माण व्यवसायीले पेश गरेको भ्याट बिलमा प्रति डिप बोरिङ १० लाख ७६ हजार ५८० रुपैयाँ मात्र निर्माण लागत रहेको उल्लेख छ। जसअनुसार जनश्रमदान १० प्रतिशत कट्टा गरी प्रति डिप बोरिङ ९ लाख ६८ हजार ८३२ रुपैँयाका दरले १ करोड ६ लाख ५७ हजार १५२ रुपैयाँ भुक्तानी दिनुपर्ने हो।
तर उपभोक्ता समितिहरूलाई लागत अनुमान र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गाउँपालिकाको कार्यालयले प्रति बोरिङ झण्डै १६ लाखको दरले १ कारोड ७५ लाख ९५ हजार ८६३ भुक्तानी गरेको छ।
महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनले डिप बोरिङ निर्माण कार्यमा ६९ लाख बढी भुक्तानी गरी अनियमितता गरेको ठहर गरेको हो ।