सिरहा : सरकारी गाडीमा जसपा नेताको रजाइँ
विनय यादव-
सिरहा, बैशाख २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा केन्द्रिय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि सिरहामा मंगलबार साँझ आक्रमण भयो ।
पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिम दिशाबाट पूर्वतिर गइरहेका बेला साँझ करिब साढे ८ बजेतिर मिर्चैया र गोलबजार नगरपालिकाको सिमानामा पर्ने घुर्मी खोला पुल छेउमा उनीमाथि आक्रमण भएको थियो ।
आक्रमणकारी समूहको पहिचान भइसकेको छैन । आक्रमणबाट उनी सामान्य घाइते छन् ।
उनीमाथि भएको आक्रमण गर्ने समूह र कारणका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सिरहामा उनीमाथि चुनावमा टिकट बेचेको आरोप लाग्दै आएको छ ।
प्रहरी अनुसन्धानपछि आक्रमणको कारण खुल्ने नै छ । तर, उनी चढेर आएको गाडी सरकारी गाडी रहेको खुलेको छ । काठमाडौंबाट सिरहाको गोलबजार आइरहेका उनले सेता नम्बर प्लेटको बा २ झ ३६५१ नम्बरको स्कोर्पियो प्रयोग गरेका थिए ।
Sponsored
गाडीको बीचको सिटमा उनी आफैं बसेका थिए भने पछाडिपट्टीको सिटमा जसपाको पर्चा पम्पलेट टन्नै लोड गरिएको थियो । यो सिरहा नगरपालिकाका मेयर चढ्ने गाडी हो ।
सिरहा नगरपालिकामा जसपाबाट निर्वाचित निवर्तमान मेयर अशेश्वर यादव राजीनामा दिएर पुनः चुनाव लडेका छन् । चुनाव लड्न राजीनामा दिएका उनले गाडी पनि प्रशासनलाई जिम्मा लगाइदिएका थिए ।
तर, प्रशासनको जिम्मामा गइसकेको गाडी कसरी कुनै संवैधानिक पदमा पनि नभएका निवर्तमान मेयरकै पार्टीका नेताले चढिरहेका थिए भन्ने गम्भीर प्रश्न सिरहाका प्रशासनमाथि खडा भएको छ ।
यो घटनाले स्थानीय चुनावका लागि जनप्रतिनिधिहरुले राजीनामा दिइसकेको भएपनि अझै उनीहरुकै रजगज चलिरहेको प्रष्ट हुन्छ ।