शंकराचार्य स्वामी निश्चलानन्द जनकपुर आउँदै, जानकी मन्दिरद्वारा भव्य स्वागतको तयारी
टुडेपाटी-
जनकपुरधाम, चैत २४ गते ।
रामनवमी पर्वको अवसरमा जनकपुरधाममा श्रीमज्जगदगुरू शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरधाम आउने भएका छन् ।
जनकपुरधाममा आयोजना हुन लागेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी आउन लागेको जानकी मन्दिरका सह महन्त रामरोशन दासले जानकारी दिए ।
रामनवमी पर्वको अवसरमा जानकी मन्दिरको प्रांगणमा आयोजना हुने सो सम्मेलनमा प्रवचन दिनका लागि गोवर्द्धन मठका शंकराचार्य निश्चालानन्द सरस्वती महाराज चैत २६ गते जनकपुरधाम आउन लागेको सह महन्त दासले बताए ।
उनका अनुसार जटही नाका भएर शंकराचार्यको जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जटही नाकामा उनलाई भव्य स्वागत गरिने तयारी गरिएको छ ।
शंकराचार्यले चैत २७ गते बिहान साढे ११ बजेदेखि प्रवचन दिने र सोही दिन साढे ४ बजेदेखि विद्वत सभामा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
Sponsored
त्यस्तै, चैत २८ गते बिहान ११ बजेदेखि दीक्षा तथा पादका पूजन कार्यक्रमको आयोजना गर्नुका साथै सोही दिन शंकराचार्यको पादुका पूजनसँगै बिदाइ गरिने जानकी मन्दिरले जनाएको छ ।
शंकराचार्यको आगमनलाई लिएर कार्यक्रमको तयारी तथा व्यवस्थापनको लागि जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा २५१ सदस्य मूल समारोह समिति गठन गरिएको छ ।