धनुषामा एक किराना पसलमा आगजनी, १० लाख बढीको क्षति
टुडेपाटी-
जनकपुरधाम, चैत १३ गते ।
धनुषाको विदेह नगरपालिका तिनकौरीया चोकको एक किराना पसलमा आगजानी गरिएको छ ।
शनिबार राति साढे ११ बजे सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा आगजनी भएको हो ।
आगोबाट सम्पूर्ण पसल नै जलेर नष्ट भएको छ । पसल भित्र रहेको किराना, कपडा लगायतको सरसमान जलेर १० लाख बढीको क्षति भएको संचालक मण्डलले बताए ।
त्यहाँबाट करिब ५० मिटरकै दुरीमा प्रहरीचोकी तिनकौरिया रहेको छ । प्रहरी बजारमा डिउटी नबस्दा कसैले आगो लगाइदिएको हुन सक्ने स्थानीयको भनाइ छ । सो पसल तिनकौरिया चोकमा २० वर्षदेखि संचालनमा रहेको थियो ।
यता तिनकौरिया प्रहरी चोकीका सई आशनारायण गिरीले २४ घण्टा चोकमा प्रहरीको डिउटी हुने गरेको दावी गरेका छन् ।
Sponsored
उनले घटना विषयमा थप अनुसन्धान गरिरहेको बताएका छन् ।