सर्लाहीमा भीषण आगलागी, १३ घर जलेर नष्ट
टुडेपाटी-
सर्लाही, चैत १२ गते ।
जिल्लाको धन्कौल गाउँपालिका ५ मा भीषण आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ ।
शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । एउटा घरमा भने आंशिक क्षति पुगेको छ ।
दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सल्केको थियो । आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए । वडाध्यक्ष महतोको अनुसार आगलागीबाट अधिकांश फुसको छानो भएका कच्ची घर जलेको हो ।
स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको हो । आगलागीबाट घरमा रहेका लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको यकिन कारण नखुले पनि खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।
Sponsored
सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र सदरमुकाम मलङ्गवा तथा हरिवन नगरपालिकाको वारुण यन्त्रको सहयोगमा झण्डै एक घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए ।
आगलागीबाट घर जलेका पीडितहरुको बिचल्ली भएको छ । आक्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।