बच्चा चोरी भएको घटनामा अनुसन्धान गर्ने इन्सपेक्टर साह महिनाकै उत्कृष्ट प्रहरी
टुडेपाटी–
जनकपुरधाम, फागुन १३ गते ।
जनकपुरधामबाट बच्चा चोरी भएपछि बच्चालाई सकुशल उद्धार गर्ने इन्सपेक्टर महिनाकै उत्कृष्ट प्रहरीको रुपमा समानित भएका छन् । प्रहरी निरीक्षक विक्रम साह माघ महिनाकै उत्कृष्ट प्रहरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत माघ २६ गते जनकपुरधाम उपमहानगरपालिका–६ का मोहमद आमिर राईनका ७ महिनाको छोरालाई चोरी गरेर फरार भएको घटनामा छानविन गरी बच्चालाई सकुशल उद्धार गर्ने प्रहरी निरीक्षकलाई माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
प्रहरी निरीक्षक साहले बच्चा चोरी भएको घटनामा बच्चा खोजतलाश गर्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाकी ३४ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेवश्वरकी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ का कृष्ण कुमार यादबलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
त्यस्तै जानकी मन्दिर आएको बेला हराएकी ६ वर्षीया बालिका, सिरहाको बरियारपट्टी नगरपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपाल बस्दै आएकी दिपिका दासको ५ वर्षीय छोरा हराएपछि तिनीहरुलाई फरक फरक स्थानबाट सकुशल उद्धार गरेका थिए ।
प्रहरी निरीक्षक साह प्रहरी प्रति सकारात्मक सन्देश दिन सफल भई आफ्नो पदीय दायित्व कुशल, ईमान्दारीपुर्वक पुरा गरेकोले उक्त कार्य र व्यवसायिकताको उच्च मुल्याङ्कन गर्दै माघ महिनाको उत्कृष्ठ प्रहरी घोषणा गरिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।
Sponsored
त्यस्तै बच्चा चोरी भएकै घटनामा प्रहरी निरीक्षक साहलाई सहयोग गर्ने प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुमार साह र प्रहरी जवान अक्लेश कुमार रामलवाई कदर पत्र सहित पुरुष्कृत गरिएको हो ।