धनुषामा भन्सार छली गरेर ल्याएको कपडा तथा किराना सामान बरामद
टुडेपाटी–
जनकपुरधाम, फागुन १३ गते ।
धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको अढाई लाख भन्दा बढीको सामान बरामद गरेको छ ।
बिहिवार राति खटेको प्रहरीको गस्ति टोलीले २ लाख ६१ हजार १७० बराबरको भन्सार छली गरेर ल्याएको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
गएराति गस्तिमा खटेको प्रहरी टोलीले जनकपुरधाम उप–महानगरपालिका वडा नं. १२ कुवा स्थित भारतबाट भन्सार छली गरेर मोटरसाईकलमा ५ बोरा कपडा बरामद गरेको छ । प्रहरीले बरामद गरेको कपडा १ लाख ९ हजार ४२० बराबरको रहेको छ ।
त्यस्तै जनकपुरधाम उप–महानगरपालिका–७ सार्वजनिक बाटो स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनी सहित किराना सामाग्रिहरु १ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको बरामद गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
भन्सार छली गरेर ल्याइएको सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored