चिकित्सकको लापरवाहीले काव्या अस्पतालमा आमा र शिशुको मृत्यु भएको पीडितको आरोप
टुडेपाटी–
जनकपुरधाम, माघ २६ गते ।
अस्पतालको लापरवाहीले जनकपुरधाममा आमा र नवजात शिशुको मृत्यु भएको पिडित परिवारले आरोप लगाएका छन् ।
जनकपुरधाम स्थित काव्या अस्पतालमा चिकित्सकको लापरवाहीका कारण आमासहित जुमल्याहा शिशुको मृत्यु भएको भन्दै पिडित परिवारजनले अस्पतालमा तोडफोड समेत गरेका हुन् ।
गत सोमबार अस्पतालमा भर्ना भएकी धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुन र उनका नवजात जुमल्याहा शिशुको ज्यान गएको छ । मृतकका परिवारजनले चिकित्सकको लापरबाहीले बिरामी र शिशुको मृत्यु भएको आरोप लगाएका छन् ।
डाक्टरहरु मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेर निकालेका शिशुमध्ये एकको गर्भमै मृत्यु भईसकेको र अर्का शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर, केही घण्टामै अर्को शिशुको पनि मृत्यु भएको थियो ।
मृतकका श्रीमान यैजुबले अस्पतालमा चिकित्सकले शिशुलाई बचाउन नसकेपनि आमा निको हुने भन्दै उपचार जारी राखेपनि बुधबार बिहान महिलाको मृत्यु भएको आरोप लगाए ।
Sponsored
यता, काव्या अस्पताल प्रशासनले महिला भर्ना भएकै दिनदेखि प्लेटलेटको मात्रा कम भएकोले अस्पतालकै चिकित्सक डा. रमित राजलगायत अन्य कर्मचारीहरु मिलेर ६/७ पोका रगत दिई उनलाई बचाउने कोशिस गरेको दावी गरेका छन् ।
अस्पतालका सञ्चालक डाक्टर एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको दावी गरे । उनले एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक उपाय अवलम्बन गरिएको दावी गरे ।
महिलाको अवस्था क्रिटिकल हुन लाग्दा आफूहरुले बाहिर लग्न परिवारजनलाई जानकारी गराईसक्दा समेत उनीहरुले यहाँ नै उपचार जारी राख्न भनेपछि अस्पतालले उपचारको हरेक प्रयास गरेको डा. सिंहले बताए ।
तर मृतकका श्रीमानले भने चिकित्सकहरुको लापरवाहीको कारण श्रीमती र नवजात शिशुहरुको मृत्यु भएको दाबी गरेका छन् ।