मधेश सरकारको स्थायी संरचना निर्माणका लागि अध्ययन समिति गठन
टुडेपाटी–
जनकपुरधाम, माघ १८ गते ।
प्रदेशले नाम र स्थायी राजधानी पाएपछ मधेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आफ्नो प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह सदस्य रहेका छन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री साहले समितिले भवनसहितका स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजीदेखि प्राविधिक सहित बजेट स्रोत व्यवस्थापनसम्मको कार्य गर्ने जानकारी दिए ।
समितिले नै विभिन्न प्राविधिक र अर्थ विज्ञसहितका व्यक्तिहरूलाई राखेर विज्ञ समिति गठन गर्नेछ । समितिले बुझाएको प्रतिवेदनको आधारमा सरकारले कार्य अगाडि बढाउने छ ।
Sponsored