मधेश प्रदेशमा करिब ११ हजारले लगाए कोरोना विरुद्धको बुस्टर डोज
टुडेपाटी–
जनकपुरधाम, माघ १० गते ।
मधेश प्रदेशमा करिब ११ हजार जनाले कोरोना विरुद्धको बुस्टर डोज लगाएका छन् ।
नेपाल सरकारले अग्रपंक्तिमा खटेकाहरुलाई बुस्टोर डोज दिन सुरु गरेकोमा मधेश प्रदेशमा आइतवारसम्ममा १० हजार ९ सय ९८ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए ।
बारामा सबैभन्दा बढी ३ हजार २ सय २० जनाले बुस्टर डोज लगाएका छन् ।
त्यस्तै सर्लाहीमा २ हजार २६, धनुषामा १ हजार ९ सय ६०, रौतहटमा १ हजार ८ सय २३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले लगाएको खोपको पूर्ण डोज
Sponsored
मधेश प्रदेशमा कोरोना भाइरस विरुद्धको अभियान सुस्त गतिमा चलेको छ ।
१२ वर्ष देखि माथिका उमेरका ४४.२ प्रतिशत नागरिकले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । १८ वर्ष भन्दा माथिका भने ५१.८ प्रतिशत नागरिकले भ्याक्सिनको पूर्ण डोज लगाएका हुन् ।
स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् ।
यस प्रदेशमा पहिलो डोज भने ५१.५ प्रतिशत नागरिकले लगाएका छन् ।