TodayPati

परिवर्तनको पथमा लम्किदै मधेशका छोरीहरु !

कमलेश ठाकुर-
जनकपुरधाम, पुस २६ गते ।

महोत्तरीकी ३४ वर्षीया रेणु यादवले पाँच पटक गर्भपतन गराइन् । छोरा पाउने आशमा उनले गर्भ पहिचान गरी छोरी देखिएपछि गर्भ तुहाएको बताउँछिन् । अहिले उनका ६ जना छोरी छन् । तर, अझै छोरा पाउन उनी गर्भ राख्ने गरेकी छन् । घरपरिवारको दबाब र बुढेसकालको शाहारा छोरा हुने आशायले गर्भनिरोधक औषधि सेवा नलिएको उनी बताउँछिन् ।
‘पहिलो पटक गर्भपतन गराउँदा चिकित्सकको सल्लाह अनुसार सुरक्षित गर्भपतन गराएँ । त्यसपछि फेरी गर्भपतन गर्न जान लाज र लाञ्छना लाग्ने डरले आफैं औषधि किनेर खाएँ,’उनले भनिन्,‘घरमै औषधि सेवन गरेँ । गर्भपतन गर्दा रक्तस्राव बढी भएपनि निको भएँ ।’

पाँचौें पटक गर्भ बस्दा औषधिले काम नगरेको रेणुको भनाइ छ । ’ औषधीको असरले बिरामी भएको उनले बताइन् । अत्याधिक रक्तस्रावले गर्दा चिकित्सकले शरीरमा रगतको कमीको कारण उनको पाठेघरमा प्वाल परेको बताएका छन् ।

Sponsored

प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो ३ वर्षको तथ्यांक अनुसार गर्भपतन पछि स्वास्थ्यमा आएको जटिलताका कारण उपचार गर्ने महिलाहरुको संख्या निकै बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३ सय ५२ जना, २०७५÷७६ मा ५ सय ६६ जना र २०७६÷७७ मा ४ सय १४ जना महिला रहेका छन् । तथ्याङ्क र सोचले जे देखाएपनि मधेशका छोरीहरुले अवसर पाए सफलताको शिखर चुम्न सक्छन् । अभिभावकले हौसला दिए छोरीले छोरा सरह काम गर्न सक्छन् । अवसर पाएका तिनै छोरीहरुको सफलताको कथा यहाँ प्रस्तुत गरिएको छ ।

साहसिक नेतृ मञ्जु

महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी बस्ने शान्ति देवी र रमेश यादवको घरमा २०३८ पुस २७ गते छोरी जन्मिन् । पहिलो सन्तानको रुपमा छोरी पाउँदा यादव दम्पति सहित परिवारजन आफ्न्त निकै खुुुुुुसी भए । त्यो खुसी रमेशले छरछिमेकीलाई आँफै सुनाए । पुर्व शिक्षक र प्रधानपञ्चसमेत रहेका रमेशले छोरीलाई शिक्षा र अन्य अवसरहरु दिन कहिले कञ्जुस्याइँ गरेनन् । आफ्नी छोरी समाजमा भइरहेको दमन शोषणविरुद्ध सशक्त रुपमा उभिउन् भन्ने उनको सपना बुने ।

छोरीलाई सोही अनुसारको शिक्षा दीक्षा र अवसर दिन थाले । कालो कोट लगाएर, समाजका विकृति विसङ्गतिविरुद्ध आवाज उठाउन उनले छोरीलाई कानुन विषय लिएर पढ्न प्रोत्साहन गरे । त्यही पथमा डोर्याएर सघाउन थाले । अहिले उनकी छोरी ४१ वर्षीया मञ्जु कुमारी यादव प्रदेशसभा सदस्य छिन् । प्रदेश २ को संसदमा मञ्जु एक साहसिक एवं सक्षम नेतृको रुपमा परिचित छन् । ‘बुबालाई आर्दश मानेर यहाँसम्म आउन सफल भएकी हुँ । बुबाको साथ र सहयोग सँधै मेरो लागि प्रेरणाको स्रोत छन्,’उनले भनिन्,‘बुबाले हातमा कुचो होइन किताब बोकेको राम्रो मान्नु हुन्छ । त्यसकै प्रतिफल हो, म जनताको मन्दिर, संसदमा पुग्न सके’मञ्जु भन्छिन् ।

Sponsored

हाल उनी एमफिल पास गरेर पिएचडीको तयारीमा छन् । विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी मञ्जु राजनीतिमा दमन, शोषण अन्याय, अत्याचारविरुद्ध शसक्त आवाज उठाइरहेकी छन् । समाजमा व्याप्त पितृसत्तात्मक सोच परिवर्तन हुन जरुरी छ र त्यसका लागि आफू स्वयंबाट सुरु गर्नुपर्ने उनको कथन छ । लिङ्गको आधारमा होच्याउने प्रवृत्तिको अन्त्य हुनु पर्छ भन्ने मान्यता राख्ने मञ्जु तीन वर्ष अघि आफ्नै पार्टीका सांसद होच्याउँदा झापड हानेकी थिइन् ।


‘मेरो घरमा कहिल्यै लिङ्गको अधारमा विभेद भएन । मेरो परिवारको सदस्यले कहिले पनि छोरी भनेर विभेद गरेको याद छैन,’उनले भनिन् । तत्कालिन एमाले पार्टी निकट युवा संघमा केन्द्रीय सचिवसमेत भइसकेकी मञ्जु सत्य र महिलाको पक्षमा डटेर उभिने सांसदको रुपमा चिनिन्छन् । लैङ्गिक र जातीय विभेदविरुद्ध आवाज उठाउने उनले गएको मंसिर १७ गते सुर्य नारायण ठाकुरसँग अन्तरजातिय प्रेम विवाह गरिन् ।

कलाकारितामा रमाएकी सरिता

महोत्तरीको औरही नगरपालिका ८ भोइलटिमकियाका रामचन्द्र साह दोस्रो सन्तान छोरा होस् भन्ने चाहन्थे । घरभित्र साहकी श्रीमती रामप्यारी सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन् । छोरा हुने आश पालेका रामचन्द्र पनि खुशी थिएँ । तर, धेरै समय उनको खुशी टिक्न सकेनन । घरभित्रबाट महिलाहरुको समूह कानेखुसी गर्दै निस्कियो । रामचन्द्रले सोधे छोरा भयो कि छोरी ? ती महिलाहरु बोलेनन् ।
महिलाहरुको समूहले केही नबोलेपछि छिमेकी भाउजूको नाम लिएर सोधे । छिमेकी भाउजूले व्यग्ंय गर्दै ‘बोझ÷कमाउवा’ पैदा भएको जवाफ दिइन् । उनको जवाफले छोरी जन्मेकोे उनले सहजै बुझे । सबैको अनुहार मलिन भयो । पुरुषहरु निरास हुँदै त्यहाँबाट किनारा लागे । महिलाहरुको समूह पनि निस्किए । ‘छोरी जन्मेपछि मलाई सह्यारै नगरी सबै फर्किए, । श्रीमान् पनि छोरीलाई हेर्न आउनु भएन,’त्यती बेलाको कुरा स्मरण गर्दै रामप्यारी भन्छिन्,‘घरका सबै मानिस चिन्तित भए । छोरा भए भोजभतेर गर्ने सोचेको परिवारले छोरीको न्वारान पनि राम्ररी गरेनन् ।’

माइतीले दबाब दिँदा छोरीको न्वारान भएको रामप्यारीले बताइन् । जब सरिता कक्षा ६ मा पढ्दै थिइन् । दिदी सुजितासँगै एउटै मण्डपमा विवाह गरिदिने रामचन्द्रले घरमा छलफल गरे । सरिताले यो कुरा अस्वीकार गरिन् । त्यसयता कयौं पटक उनको विहेवारीको कुरा घरमा चल्यो । सरितालाई अनेकन दबाब दिए । तर, सरिताले मानिनन् । उनी अहिले कलाकारिता क्षेत्रमा अब्बल मधेशकी छोरी भनेर चिन्छिन् ।

काठमाडौंमा उनले देखाएको कलाकारिताले उनलाई स्थापितमात्रै गराएन, नाटक लेख्न र निर्माण गर्न सक्ने बनायो । भर्खरै उनले निर्देशन गरेको ‘फगुनिया’ नामको मैथिली नाटक उत्कृष्ट भएको छ । त्यस बापत सरिता पुरस्कृत भएकी छन् । छोराको आशैआशमा ६ जना छोरी जन्माएका रामचन्द्र अहिले छोरीको कामले संन्तुष्ट छन् ।


‘पहिला हामी साइकला चढ्दा बुबाले हामीलाई कुट्नुुन्थ्यो । अहिले बाइक चलाउँदा खुुसी हुनुहुन्छ,’२७ वर्षीया सरिताले भनिन्,‘मेरा चारजना बहिनी अहिले साइकल चढेरै पढ्न र बजार जान्छन् ।’

मुस्लिम डाक्टर जेवा

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर निवासी २६ वर्षीया जेवा खातुनलाई सानैदेखि सेतो कोट लगाएर विरामीको सेवा गर्ने इच्छा थियो । पहिलो पटक अस्पतालमा आमालाई लिएर जदाँ डाक्टर बन्ने सपना उनले बुनेकी थिइन् । त्यसयता उनले नियमित सोही अनुसारको पढाई गर्न थालिन् । गौरी इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुल जनकपुरबाट ०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी जेवा खातुनले विराटनगरस्थित अरनिको कलेजबाट प्लस टु गरिन् । त्यसपछि चिकित्सा शिक्षा पढ्ने आमाबुवा समक्ष इच्छा राखिन् । बुबा फिरोज खान र आमा यास्मिन सुल्तानले बिना हिचकिचाहट जेवाको निर्णयमा साथ दिए । जेवा काठमाडौं गएर तयारी गर्न थालिन् ।


जेवाले छात्रवृत्तिमा नाम निकाल्न सकिनन् । यद्यपि अभिभावकले पैसा तिरेरै उनलाई डाक्टर पढाउन तयार भए । ‘अभिभावकले मलाई पुरै शुल्क तिरेरै एमबीबीएससम्म पढाउनुभयो । अहिले उत्तीर्ण भएर डाक्टर बनेकी छु’ उनी भन्छिन्, ‘अभिभावकको लगानीको सम्मान र सदुपयोग भएको छ र, मेरो घरपरिवार निकै खुसी छन् ।’


यही वर्ष ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण भएकी जेवा अहिले पाटन अस्तालमै इन्टरनसीप गरीरहेकी छिन् । सप्तरीको मुस्लिम समुदायबाट उनी पहिलो महिला चिकित्सक हुन् । ‘मेरो अभिभावकले पढ्नु पर्नेमा जहिले पनि जोड दिइरहनुभयो, त्यही भएर लगातार पढ्ने काम मात्रै गरें’ जेवा भन्छिन्, ‘अभिभावकको सहयोगले नै सपना पुरा गर्न पाएकी हुँ ।’ जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहेका छन् । जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहेकी छन् । तीन दिदी बहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनी बताउँछिन् ।

बुहारीले गरिन् एमएड

सिरहाकी साहनाज प्रवीणले लहानस्थित जेएस मुरारका क्याम्पसबाट एमएड गरिन् । मुस्लिम समुदायकी उनको नामांकनदेखि कलेज शूल्कसम्मको बन्दोबस्त उनका ससुराले नै गरे ।स्नातकदेखि ससुरालगायत घर परिवारले उनलाई पढ्न सहयोग गरेको साहनाज बताउँछिन् । ‘यस कलेजबाट स्नातकोत्तर गर्ने साहनाज मधेशी मुस्लिम समुदायकी पहिलो बुहारी हुन्,’क्याम्पस प्रमुख तुलसी पोखरेलले भने, ‘अरु पाँचजना जति मधेशी मुस्लिम समुदायका बुहारी उक्त कलेजमा विभिन्न तह र संकायमा अध्ययनरत छन् ।’

प्रदेश सरकारको आशमा महिला

०७५ माघमा प्रदेश २ सरकारले किशोरीमाथि हुने हिंसा अन्त्य गर्ने र छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु ग¥यो । अभियान अन्तर्गत अध्ययनरत्त छात्रालाई साइकल वितरण, छोरी शिक्षा बीमा र हिंसाबाट जोगाउन आत्मरक्षा तालिमजस्ता कार्यक्रम समावेश गरिएको थियो । यद्यपी हाल यी कार्यक्रमहरु घोषणा मै सिमित भयो । कार्यान्वयनमा आएनन् । अख्तियारले छापामारे पछि साइकल वितरण बन्द छ भने बैंकले सम्झौता नबिकरण नगर्दा छोरी शिक्षा बीमा पनि बन्द भएको छ ।

‘छोरीलाई शिक्षा नदिने, बाल विवाह गर्ने र घरेलु हिंसा गर्नेजस्ता प्रवृत्ति निर्मूल गरी प्रोत्साहन गर्ने उद्देश्यले ती कार्यक्रमहरु ल्याइएको थियो,’कार्यक्रमको संयोजक प्रियकां यादवले भनिन् । उनका अनुसार प्रदेश २ का छोरीहरूले जन्मने बित्तिकै तीन लाख रुपैयाँको बीमा सरकारले गर्ने घोषणा गरेको थियो । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल वितरण तथा छोरी शिक्षा बीमा सबैभन्दा बढी उपलब्धिमूलक रहेको उनको दावी छ । यस बाहेक पनि छोरीलाई मूलधारमा ल्याउनको लागि प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत महिला आरक्षणको व्यवस्था गरिएको छ । प्रदेश सरकारले महिलाको नाममा उद्योग दर्ता गरि सञ्चालन भए २० वर्ष राजश्व नलिने कानुनी व्यवस्था समेत गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *