हंसपुरमा छठ पूजा सामग्री वितरणमा विवाद
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २४ गते ।
छठ पूजा सामग्रीमा धनुषाको एक स्थानीय तहका मेयरले एकलौटी गरेको आरोप लागेको छ । जिल्लाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले छठ पूजा सामग्री वितरणमा एकलौटी गरेको वडाध्यक्षले नै आरोप लगाएका छन् ।
वडा नं. ६ का वडाध्यक्ष मधुरा चौधरीले मण्डलले कार्यपालिकाको निर्णयबिनै पूजा सामग्री वितरण गरेको आरोप लगाइन् ।
नगरले दलित विपन्नलाई छठ पूजा सामग्री वितरण गरेको थियो । ४ सय जनालाई गहुँ, सक्खर र साडी दिइएको हो ।
नगरप्रमुख मण्डलले वडाको सिफारिसबिनै हरेक वडाबाट ४० जना दलित छनोट गरी सामग्री वितरण गरेको वडाध्यक्ष चौधरीले बताइन् । सोमबार सामग्री वितरण थालेपछि नगरका ९ वडामध्ये ६ वटाका अध्यक्ष र उपप्रमुखले कार्यक्रम बहिष्कार गरेका थिए ।
पूजा सामग्री वितरणका लागि १० लाख बजेट भए पनि नगर प्रमुखले ३ लाख रुपैयाँ खर्च गरेर अरू अनियमितता गरेको चौधरीले आरोप लगाइन् । नगर प्रमुख मण्डलले भने आफूले कुनै अनियमितता नगरेको दाबी गरेका छन् ।
Sponsored