ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा
टुडेपाटी–
सिन्धुली, कार्तिक २४ गते ।
एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि कमलामाई नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा मंगलबार पोखरेल गएका थिए ।
तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएपछि एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।
जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।