नगराइन नगरपालिको नगरसभा नहुँदा कर्मचारीहरु तलबभत्ताबाट बञ्चित
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १४ गते ।
धनुषाको नगराइन नगरपालिकाकाको नगरसभामा नहुँदा कर्मचारी र जनप्रतिनिधिहरु तीन महिनादेखि तलबभत्ताबाट बञ्चित भएका छन् ।
आ.व.२०७८।०७९ को नगरसभा हालसम्म गर्न नसक्दा नगरपालिका कार्यालयले हालसम्म तलबभत्ता खुवाउन नसकेको हो ।
केहि कर्मचारीले भने २०७७।०७८ मा भएको विकासे कामको कमिसनको भागवण्डा सम्बन्धी विवादको कारण हालसम्म नगरभा सम्पन्न हुन नसकेको आरोप लगाएका छन् ।
एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘विगत आर्थिक वर्षमै मेयर, प्रशासकीय अधिकृत र लेखाअधिकृत बीच कमिसनको विवाद भएको थियो । त्यसकारण अहिलेसम्म नगरसभा सम्पन्न हुन सकेको छैन । हामी चार महिनाको तलबभत्ताबाट बञ्चित छौं ।’
यता लेखा अधिकृत रामबाबु साहले नगरसभा नभएको कारण कर्मचारीलाई तलब खान समस्या भएको बताए । नगरसभाको सुरुमै मेयर प्रमेश्वर यादव बिरामी भएको कारण हालसम्म सभा हुन नसकेको र सोहि कारण कानुनी जटिलताको कारण तलब खान र खुवान नसकेको उनको भनाइ छ । कमिसनको भागवण्डा विषयका विवादमा कुनै सत्यता नरहेको उनले दावी गरे ।
Sponsored
प्रशासकीय अधिकृत राजकुमार केसीले नगरसभा नभएकै कारण तलब खुवाउन नसकेको बताउँदै आफुलाई कमिसनको विवाद विषयमा केहि थाहा नभएको प्रतिक्रिया दिए ।
मेयर यादवले कर्मचारी र वडाध्यक्षहरुको कारण बजेट विनियोजन नहुँदा समयमै नगरसभा नभएको तलब खुवाउन समस्या भएको बताए । ‘सुरुमा म आफै बिरामी भएँ । बजेट विनियोजनमा वडाध्यक्षहरु र कर्मचारीहरुले असहयोग गरे । अहिले कर्मचारी शिक्षकहरु नगरपालिका कार्यालय र मकहाँ आएर तलब मागिरहेका छन् । म कहाँबाट तलब खुवाउनु ?’ मेयर यादवले भने ‘अब प्रक्रियामा गएर चाँडै नगरसभा सकेर तलब खुवाउने प्रयासमा छौं ।’
कर्मचारी र जनप्रतिनिधिहरुले गत साउन महिनादेखिको तलब र दशैंको एक महिनाको भत्ता बाँकी रहेको बताएका छन् ।