TodayPati

प्रदेश २ : भत्केको पुलबाट तर्ने क्रममा वेपता भएका युवकको एक हप्ता पश्चात शव भेट्यो

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ११ गते ।
सप्तरीमा भत्केको पुलबाट तर्न खोज्दा वेपता भएका युवकको एकहप्तापछि भारतमा खोलाको बगरमा शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १४ बैरिया घाट स्थित रहेको जिता खोलाको भत्केको पुलबाट तर्न खोज्दा वेपता भएका वडा नं. ९ का २३ वर्षीय लालु मण्डलको शव बिहिबार फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले वेपता भएका युवकको शव विहिबार दिउँसो करिब १ बजे भारतको सुपौल जिल्ला ग्राम पंचायत कुनौली वडा नं. १० स्थित रहेको जिता खोलाको बगरमा सडी गलिएको अवस्थामा फेला परेको बताए ।

भारतको कुनौली प्रहरी कार्यालयले घटना स्थलको मुचुल्का कार्य पुरा गरी शवलाई मृतकका वुवा शम्भु मण्डललाई जिम्मा लगाई सकेको सप्तरी प्रहरीले जनाएको छ ।
गत कार्तिक ३ गते २३ वर्षीय लालु मण्डल र २८ वर्षीय संजिव कुमार मण्डल तिलाठीबाट रामपुरमल्हनिया तर्फ जाँदै गर्दा भत्केको पुलबाट तर्न खोजेका थिए । सोही क्रममा लालु बेपता भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *