TodayPati

मधेश प्रदेशमा दिनहु ४ आगलागी घटना, दश महिनामै हजार बढी घरगोठ जलेर खरानी

टुडेपाटी-
जनकपुरधाम, वैशाख २५ गते ।

मधेश प्रदेशमा दिनहु आगलागीजन्य घटना हुने गरेको पाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार मधेशमा आगलागी घटनाको स्थिति भयावह देखिएको छ ।

चालु आर्थिक वर्ष २०८०।०८१ को साउनदेखि वैशाख २० गतेसम्म मधेश प्रदेशको आठ जिल्लामा १ हजार २६६ आगलागीको घटना भएको छ । यो आधारमा मधेशमा औसतमा प्रति दिन करिब ४ वटा आगलागी घटना हुने गरेको छ ।

Sponsored

दश महिनाको आगलागी घटनामा १२ महिलासहित १९ जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर १५ जना बालबालिका सहित १३९ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र वोहराले बताए । जलेर सबभन्दा बढी धनुषामा ६ जना, सिरहामा ५ जना, रौतहटमा ३ जना, बारामा २, पर्सा, महोत्तरी र सर्लाहीमा १–१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा छ ।

प्रवक्ता एसपी वोहराका अनुसार आगलागीमा गत साउनदेखि वैशाख २० गतेसम्म मधेशको आठवटै जिल्लामा १ हजार १० घरगोठ जलेर नष्ट भएको छ । जसमा कच्ची ६६९, पक्की ८८ र गोठ २५३ छन् । यो आगलागी घटनामा २९६ वटा पशुचौपाया जलेर मरहेको छ भने ११४ वटा चौपाया घाइते भएको तथ्यांकमा उल्लेख छ ।
तथ्याक अनुसार सबभन्दा बढी आगलागी घटना सिरहामा २२९ वटा भएको छ भने कम सर्लाहीमा १११ वटा । घर जलेको आधारमा सबभन्दा सप्तरीमा १९४ घरगोठ जलेको छ । क्रमशः महोत्तरीमा १९२, सर्लाहीमा १७७, सिरहामा १३०, बारामा १२९, रौतहटमा ८८, पर्सामा ७५ र धनुषामा २५ घरगोठ जलेर नष्ट भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुुसार आगलागीमा ९९ करोड ६० लाख ३७ हजार ८६४ रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र वोहरा पछिल्लो समय भएको केही आगलागी घटनामा घना वस्ती, फुसको घर, त्यस बेला चल्ने हावाले वस्तीहरु चपेटामा परेको बताउँछन् । ‘गर्मी मौसम छ । घना वस्ती, फुसको घर, त्यस बेला चल्ने हावाले ठूलो आगलागीको घटना भएको छ’ प्रवक्ता बोहरा भन्छन् ‘बढी क्षति र आगलागी समयमा नियन्त्रणमा आउन नसक्नुमा स्थानीय तहमा दमकलहरुको अभाव छ । छिमेक पालिका र जिल्लाहरुबाट दमकल मगाउनु पर्ने कारण तत्कालै नियन्त्रणमा कठिनाइ हुन्छ । प्राविधिक कुराहरुको अभाव हुन्छ ।’

Sponsored

आगलागी घटना नियन्त्रण जनचेतना र सतर्कता नै बिकल्प भएको प्रवक्ता बोहराको तर्क छ । ‘आगलागी घटना नियन्त्रण गर्न सबभन्दा ठूलो कुरो पब्लिक अवरनेश नै हो । जसबम्म जनताको चेतना स्तर बढाउन सकिँदैन, तव सम्म घटना नियन्त्रण गर्न सकिँदैन’ उनी भन्छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *