TodayPati

अभिराम शर्माको निलम्बन निर्णय सच्याउन लोसपाको माग

टुडेपाटी-
जनकपुरधाम, वैशाख २४ गत ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्माको निलम्बन निर्णय सच्याउन माग गरेको छ । लोसपा मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सभामुखलाई एक पत्र लेख्दै दलका नेता समेत रहेका शर्माको निलम्बनको निर्णय सच्याउन माग गरेका हुन् ।

२०७२ को मधेश आन्दोलनको बेला महोत्तरीमा भएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले गत मंसिरमा शर्मालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । फैसलापछि मधेश प्रदेशसभाले गत वैशाख १८ गते उनलाई सांसद पद निलम्बन गरेको थियो ।
निलम्बनपछि लोसपा दलका उपनेता महतोले सोमबार एक पत्र लेख्दै संघीय संसदमा नेपाली काग्रेसका सांसद टेकबहादुर गुरुङ सर्वोच्च अदालतको आदेशले निलम्बन फुकुवा हुँदै संसद् बैठकमा सहभागी भएको दाबी गर्दै शर्माको निलम्बन गलत भएको तर्क गरेका छन् ।

Sponsored

महतोले प्रदेश सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै सांसद शर्मामाथि गरिएको निलम्बन सच्याउन माग गरेका हुन् । शर्मा लोसपा मधेश संसदीय दलका भएको र उनको फैसला अन्तिम नभई जिल्ला अदालत तहबाट मात्र निर्णय भएकाले निलम्बन गर्नु गलत भएको दाबी गरिएको छ ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । ०८० मङ्सिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो।

‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१।०१।१८ को फैसलामा यहाँले प्रदेश सभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० (४) अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ’ लोसपाको पत्रमा भनिएको छ ‘कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको ब्यहोरा अवगत गराउन चाहन्छौँ ।’

Sponsored

महोत्तरी जिल्ला अदालतले दोषी ठह¥याए पनि पुनरावेदनको अधिकार अहिले समाप्त नभएकाले निलम्बन गर्नु गलत हुने लोसपाले पत्रमा उल्लेख छ। ‘यो फैसला अन्तिम हुनको लागि अहिले समय बाँकी नै छ, यस्तो अवस्थामा मधेश प्रदेशसभाका सदस्य अभिराम शर्मालाई अहिले नै मधेश प्रदेशसभाको सदस्यबाट निलम्बन गर्न कानुनतः मिल्दैन’, पत्रमा भनिएको छ। जिल्लाको फैसला विरुद्ध उच्च र सर्वोच्चसम्म जान सक्ने अधिकार शर्मासँग बाँकी नै रहेकाले अहिले नै निलम्बन गर्नु गलत भएकाले फिर्ता लिन लोसपाले माग गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *