वीरगञ्जबाट लागुऔषधसहित दुईजना प्रहरीको फन्दामा
टुडेपाटी-
पर्सा, साउन १ गते ।
वीरगञ्जबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे साँगा नगरपालिका-१३ गते ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई रहेका छन् ।
बिहीबार अपरान्ह ४ बजे वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
शंकास्पद रुपमा पैदल हिँडिरहेका दुवैजनालाई रोकी चेकजाँच गर्दा खड्काले लगाएको जिन्स पाईन्टको कम्मर पेटीमा पत्रिकाले र दुबै खुट्टामा पाइन्टभित्र सेतो टेपले बेरेको अवस्थामा लागुऔषध फेला परेको थियो ।
उनको साथबाट नुर्फिन १५० एम्पुल, डाइजेपाम १४८ एम्पुल र फेनारगन १५० गरी जम्मा ४४८ एम्पुल तथा नाईट्राभेट ट्याब्लेट २० पत्ता ६ सय ट्याब्लेट फेला परेको डीएसपी खनालले बताए । हुमागाई भने उनको साथमा आएका थिए ।
Sponsored
उनीहरु दुवैजनाविरुद्ध लागुऔषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।