TodayPati

बटेश्वर गाउँपालिकामा घुसकाण्डपछि सडक निर्माण अलपत्र, ‘कमिसन डिल’को आशंका

टुडेपाटी
जनकपुरधाम, असार १० गते ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत आठ लाख घुसकाण्डमा मुछिएर फरार भएपछि वडा नं. १ र २ को बिचमा पर्ने सडक निर्माण अलपत्र परेको छ । जेठ २०७७ मा कार्तिककुमर बजारदेखि विगही खोलासम्म झण्डै १ किलोमिटर सडक कालोपत्रे गर्न एक करोड ६० लाखमा आकृति निर्माण सेवा कम्पनीले ठेक्का लिएको थियो ।

सडक ६ महिना भित्र कालोपत्रेको काम सक्नु पर्ने गरी गाउँपालिका कार्यालय र ठेकेदार कम्पनीबिच सम्झौता भएको थियो । तर अवधिमा नबनेपछि पुनः ६ महिना म्याद थपिएको थियो । हाल सडकमा ग्राइभेल मात्र बिछ्याइएको छ । दिनरात टिपर चलेर सडक जीर्ण अवस्थामा पुगिसकेको छ । तर, एकवर्ष बितिसक्दा सडक अझै अलपत्रकै अवस्थामा छ ।

Sponsored

सडक कालोपत्रको ठेक्का लिएको कम्पनी आकृति नर्माण सेवाका संचालक रामकृपाल महतोले गाउँपालिका कार्यालयले भुक्तानी रोकेको कारण योजनाको काम अघि बढ्न नसकेको बताए । गएको मसिंर महिनामै पहिलोचरणको ६० लाख रुपैयाँ भुक्तानीको लागि प्रक्रिया पुर्याएर निवेदन दिँदा समेत गाउँपालिकाले अहिलेसमम भुक्तानी नदिएको उनको गुनासो छ ।

‘मंसिर महिनामै निवेदन दिएँ । पछि गाउँपालिका अध्यक्ष भागेपछि निमित प्रशासकीय अधिकृतले आलटाल गरिरहनु भएको छ । पहिलोचरणको कामको भुक्तानी दिएपछि लगतै सडक कालोपत्रे हुन्छ ।’उनले टुडेपाटीसंग भने ।

निर्माण कम्पनीले उक्त सडक कालोपत्रेको लागि पेटी कन्टेक्टमा दिव्यान्सु बिल्डर्सलाई १ करोड ५० लाखमा निर्माणको जिम्मा दिएको थियो । धेरै फाइदा हुने देखिएपछि कम्पनीले आफै काम गन अगाडि आएको छ । तर भुक्तानीको लागि काम अलपत्र छोडेको हो ।

Sponsored

यता गाउँपालिका निमित प्रशासकीय अधिकृत रुद्रनारायण यादवले समयमा योजनाको काम नगरेको र कागजात पेश नगरेको कारणप प्रक्रिया पुर्याएर भुक्तानी दिन ढिलाई भएको दावी गरे । ‘समयमै काम सकेन । मात्र पटक–पटक समय थप गरदिन भन्छ । समयमै कागजात पेश गरेको भए भुक्तानी हुन्थ्यो नि ! । यसमा गाउँपालिकाको कुनै कमजोरी छैन ।’ निमित प्रशासकीय अधिकृत यादवले टुडेपाटीसंग भने ।


तर कार्यालय स्रोतका अनुसार गाउँपालिका अध्यक्ष राउत घुसकाण्डमा मुछेर फरार हुँदा उनैले प्रशासकीय अधिकृतलाई फोन गरेर भुक्तानी रोकेका थिए । त्यस कारण कागजात पेश गरेको महिनौ लाग्दा अझै भुक्तानी हुन सकेको छैन ।

गएको फागुन १७ गते ८ लाख घुस फालेर फरार भएका गाउँपालिका अध्यक्ष राउत ३ महिनापछि अख्तियारमा हाजिर भइ धरौटी र जमानतमा रिहा भइ कार्यालयमा हाजिर भएका छन् । अख्तियारका अनसार अध्यक्ष राउतले गाउँपालिका कार्यालय परिसरमा निर्माण भएको गाउँपालिका भवनको पुर्ण भुक्तानी प्रयोजनामा ८ लाख रुपैयाँ घुस लिएका थिए ।

कार्यालय स्रोतका अनुसार सडक निर्माणको भुक्तानीमा समेत कमिसनको डिल गापा अध्यक्ष राउले गरेकाले सोहि कारण उनले फोनबाटै भुक्तानी नदिन कार्यालयलाई भनेको बुझिएको छ । ‘समयमै सडक निर्माण योजनाको काम सकिने थियो । तर गापा अध्यक्ष फरार भएपछि ठेकेदार कम्पनीको भुक्तानीमा जालझेल गरी टार्ने काम भयो । कमिसनको डिल गापा अध्यक्षसंगै भएको कारण सायद भुक्तानी गर्न दिएको हुन सक्छ’ कार्यालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

तर घुस काण्डपछि फरार गापा अध्यक्षले आफुलाई भुक्तानीको लागि कुनै दबाब नदिएको निमित प्राशसकीय अधिकृत यादवको दावी छ । उनले आफुलाई भुक्तानी नदिन गापा अध्यक्षले दवाव दिएको कुरामा कुनै सत्यता नरहेको र प्रक्रिया नपुर्याएकाले नै ठेकेदार कम्पनीको भुक्तानी नभएको दावी गरे ।

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *