ट्रमा सेन्टर ढल्केवरमै बन्नुपर्ने माग गर्दै मेयर महतोविरुद्ध स्थानीयको प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, असार ८ गते ।
संघीय सरकारले निर्माण गर्ने ट्रमा सेन्टर धनुषाको ढल्केवरमै बन्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।सरकारले ढल्केवर तोकेर निर्माण गर्ने भनिएको ट्रमा सेन्टर यथास्थानमै बन्नुपर्ने माग गर्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका छन् ।
मंगलवार ट्रमा सेन्टर बचाउ संघर्ष समितिद्वारा आयोजित विरोध प्रदर्शनमा स्थानीयहरू मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोविरूद्ध चर्को नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागीहरुले पूर्व निर्धारित स्थानमा ट्रमा सेन्टर निर्माण गर, ट्रमा सेन्टर अयन्त्र सार्न पाइँदैन, विकास विरोधी मेयर मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्डसहित स्थानीय सरकारविरूद्ध आन्दोलन थालिएको हो ।
ढल्केवरस्थित कृषि हाट बजारको परिसरबाट निस्किएको बिरोध जुलुस चौकको विभिन्न भागमा परिक्रमा गर्दै मिथिला नगरपालिकाको कार्यालय पुगेर नगर प्रमुख हरिनारायण महतोलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख महतोले नगर बोर्डबाट ढल्केवरको लागि निर्णय गरेर सिफारिस गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक बुधेश्वर महतोले जानकारी दिए । उनले प्रतिबद्धता अनुसार निर्णय नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
Sponsored
समितिका अर्का संयोजक चन्देश्वर महतोले नेपाल सरकारले ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट छुट्टयाएकोले यही ठाउँमा बन्नुपर्ने बताए । ट्रमा सेन्टरका लागि सशक्त आन्दोलन गर्न पनि तयार रहेको संयोजक महतोको भनाइ छ ।
नेपाल सरकारले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्ष २०७८/०७९ मा बजेट छुट्याएको छ । गएको जेष्ठ १५ गते नेपाल सरकारले ०७८/०७९ को लागि जारी गरेको प्रस्तुत बजेटमा ढल्केवरलाई किटान गरेर ट्रमा सेन्टर निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।
बजेट विनियोजनपछि यहाँका बासीमा बर्षौदेखिको सपना पुरा भएको भन्दै खुसियाली साटासाट गर्न नपाउँदै ट्रमा सेन्टर अयन्त्र सार्न लागेको खबर बाहिरिएपछि स्थानीयवासी मेयर महतोविरुद्ध आन्दोलन सुरु गरेका छन् ।