TodayPati

सर्लाहीमा सवारीसाधनलाई रोकेर लुटपाट गर्ने दुईजना हातहतियारसहित पक्राउ

टुडेपाटी-
सर्लाही, जेठ ३ गते ।

सर्लाहीमा निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गर्ने दुईजना हातहतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् ।

वैशाख २६ गते राति ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकका चालक र एउटा पिकअप गाडीको सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

बीआर ३० यू ७७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एक थान नलकटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान सुनको हनुमानी र टल्किने ज्याकेटसहित पक्राउ गरिएको उनले बताए ।

Sponsored

चालक र सहचालकसँग नगद ३७ हजार रुपैयाँ विभिन्न कम्पनीको पाँच थान मोबाइल, सुनको हनुमानी लगायतका सामान लुटेको घटनामा उनीहरु संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ दुवैजनालाई डाँका तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *