धनुषामा हावाहुरीले पर्खाल भत्किँदा महिलाको मृत्यु, बालक घाइते
टुडेपाटी-
जनकपुरधाम, वैशाख ९ गते ।
धनुषाको ढल्केवरमा पर्खाल भत्किँदा किचिएर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा मिथिला नगरपालिका ६ ढल्केवरकी ६० बर्षीया दौलतिया देवी दास रहेकी छन् ।
बिहिबार बिहान ६ बजे बर्षासँगै आएको हावाहुरीले ईटाको पर्खाल भत्किँदा च्यापिएर दास गम्भीर घाइते भएकी थिइन् ।
महिलाको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको आफन्तले बताएको छ ।
सोहि घटनामा एक १२ बर्षिय बालक अनुराग दास घाइते भएका छन् ।
ढल्केवरस्थिति चौकमा शैलेन्द्र साहले निर्माण गर्दै गरेको पक्की घरको दोस्रो तलामा केहिदिन अघि लगाईको ईटाको पर्खाल हावाहुरीले भत्काउँदा छेउमै रहेको मस्त खाजाघरमाथि खसेको छ । खाजाघरमा महिला र उनको नाति अनुराग सुतिरहेका थिए । घाइते बालकको उपचार भइरहेको आफन्तले जनाएको छ ।