बारामा एक महिला आफ्नै घरमा मृत भेटिए, श्रीमान फरार
टुडेपाटी-
बारा, वैशाख ९ गते ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका-३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा शव भेटिएको हो ।
निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।
घटनापछि महिलाका श्रीमान फरार छन् । उनले नै हत्या गरेर भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।
मादक पदार्थ सेवन गरेर आउँदा बाबु आमाबीच प्रायः झगडा भइरहने ती दम्पतीका छोराहरुले बताएका छन् ।
Sponsored
बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको उनीहरुले प्रहरीसमक्ष बताएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ सहितको टोली घटना स्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
‘श्रीमान श्रीमतीबीच लामो समयदेखि वादविवाद भइरहने रहेछ, घटनापछिसँगै रहेका श्रीमान् फरार छन्, उनको खोजी भइरहेको छ,’ उनले भने ।
घटनास्थल शव जाँच मुचुल्का लगायतकाआवश्यक अनुसन्धान प्रक्रिया शुरु भएको डीएसपी मिश्रले बताए ।